देवचुली,
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको उद्योगपति बिनोद चौधरीको औद्योगिक घराना चौधरी उद्योग ग्राममा देवचुली नगरपालिकाले अनुगमन गरेको छ। कोरोना भाईरस (कोभिड-१९) को दोश्रो भेरियन्टको महामारी फैलिरहेको सन्दर्भमा देवचुली नगरपालिकाले उद्योगको अनुगमन गरेको हो। महामारीको समयमा उद्योग सञ्चालन भैरहँदा त्यहाँ कार्यरत कर्मचारी/कामदारको स्वास्थ्य सुरक्षाको अवस्था बुझ्न देवचुली नगरपालिकाले उद्योग ग्रामलाई परिपत्र गरेको थियो।
पत्रको जवाफमा उद्योग ग्रामले स्वास्थ्य सुरक्षा अपनाइएको भनेपछी सोको पालना भए नभएको बुझ्न नगरपालिकाले बिहिबार अपराह्न अनुगमन गरेको हो। देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, योजना शाखा प्रमुख जीवलाल श्रेष्ठ, सूचना अधिकारी/सूचना प्रविधी अधिकृत कृष्णहरि सापकोटा, वडा नं २ का वडाध्यक्ष माधव केसी, वडा नं ३ का वडाध्यक्ष गोपालराज शर्मा लम्साल, पत्रकार लगायतले चौधरी उद्योग ग्रामको सिजि फुड्स, सिजि वेभरेज, सिजि ब्रुअरी लगायत सिजि मेडिकेयर तथा क्वारेन्टिन र आइसोलेसन वार्डको अनुगमन गरेको छ।
अनुगमनका क्रममा उद्योगले स्वास्थ्य मापदण्ड अपनाएको धन्यबाद दिंदै देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले उद्योगमा अक्सिजन शिलिण्डरको संख्या वृद्धि गर्न सुझाव दिनुभयो। उद्योगका सिएसआर प्रमुख रामचन्द्र धितालले कोरोना संक्रमणमा उद्योग सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरिएको बताउँदै उद्योगमा ४५ जना क्षमताको आइसोलेसन कोठा तयार गरिएको, करिव १ सय ५० जना अट्ने श्रीश्री सेन्टरलाई क्वारेन्टिनका लागि तयारी अवस्थामा राखिएको, दुईवटा इमर्जेन्सी बेड, डाक्टर तथा एम्बुलेन्स तैनाथ गरिएको बताउनुभयो।
अनुगमन पश्चात् प्रतिक्रिया दिंदै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले उद्योग सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गरिएको पाईएको तथा अझै सुधार गर्न सुझाव दिइएको बताउनुभयो। चौधरी उद्योग ग्राममा कोरोना संक्रमण भई आइसोलेसनमा रहेका एक संक्रमितलाई देवचुली नगरपालिकाकाले भेटी स्वास्थ्य अवस्था समेत बुझेको थियो। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको थियो। चौधरी उद्योग ग्राम ८० बिगाहा क्षेत्रफलमा फैलिएको छ। हाल उद्योग ग्राममा दुई सिफ्टमा गरि करिव दुई हजार कामदार कार्यरत रहेका छन् ।