बिरामीको चाप धान्न गाह्रो परेको भन्दै काठमाडौंका अस्पतालहरुले कोभिड–१९ संक्रमितलाई सेवा दिन नसक्ने निर्णय गरेसँगै दुई दिनयता एयर लिफ्टिङमार्फत सेवा लिनेको माग घटेको छ ।
उपत्यकाको अस्पताल बिरामीले भरिभराउ हुनुका साथै अक्सिजन व्यवस्थापन नै प्रभावकारी हुन सकेको छैन । यस्तोमा कोभिड संक्रमित बिरामीलाई बचाउन परिवारले उपत्यका बाहिरका अस्पतालमा पुर्याउन थालेका छन् । यसको पुष्टि वायुसेवा संचालक संघले गरेको हो । एयरलिफ्टिङमार्फत हेलिकप्टरले बिरामीलाई संघीय राजधानी बाहिरका अस्पतालहरुमा पुर्याइरहेको छ ।
काठमाडौंबाट बिरामीको घर र त्यहाँबाट उपत्यक बाहिरका अस्पतालमा पुर्याउँदा भाडा भने चर्को परेको छ । काठमाडौंका ठूला अस्पतालहरूले बिरामीको चाप रहेको र अक्सिजनको व्यवस्थापन अझै सहज नभएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना लिन घटाएका छन् । यसले संक्रमितको परिवारलाई ठूलो आर्थिक भार बढेको छ।
काठमाडौं बेस रहेका हेलिकप्टरले उपत्यका बाहिर एयरलिफ्टिङ सेवा दिँदा समग्र भाडादर स्वाभाविकरूपमै महंगो हुन आउने संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। ‘मेडीसिटी, ह्याम्स, ग्राण्डीलगायत अस्पतालले अब बिरामी नल्याउनू हामी सेवा दिन सक्दैनौं भनिसकेका छन् । अब बिरामीका लागि गरिँदै आएको उद्धार उडानको भाडादर झन् महंगो पर्ने भएको छ,’ उनले भने, ’काठमाडौंबाट बिरामीलाई जहाँको अस्पताल पु¥याए पनि हेलिकप्टर काठमाडौं फर्कनै पर्छ, त्यसैले भाडा स्वतः महंगो हुन्छ ।’
उनका अनुसार बुधबार केही हेलिकप्टर कम्पनीले काठमाडौं–बुटवल–पोखरा लगायत तीनतर्फी उद्धार उडान गर्न सुरु गरेका छन्। उपत्यका बाहिरका जिल्लामा कोभिडका बिरामीका लागि उद्धार उडान गर्नका लागि साढे आठ लाख रुपैयाँसम्म शुल्क लाग्न सक्ने उनले जानकारी दिए। यस अघि विभिन्न हेलिकप्टर कम्पनीले सामान्यतया करिब चार लाख रुपैयाँमा एयरलिफ्टिङको सेवा दिँदै आएका थिए।
यतिखेर उपचारका लागि काठमाडौं आउने संक्रमित बिरामीको माग कम आए पनि विभिन्न जिल्लाका बिरामीहरुले बिर्तामोड र भरतपुरमा रहेका अस्पताल जानका लागि एयरलिफ्टिङको सेवा लिँदै आएको अल्टिच्युड एयरका बजार प्रमुख सिताराम सापकोटाले बताए ।
‘काठमाडौंका अस्पतालले कोभिड संक्रमितका लागि आइसीयू र भेन्टिलेटर खाली नभएका कारण सेवा दिन नसक्ने बताइसकेका छन्। हामीले काठमाडौंकै अस्पतालमा कार्यरत पारामेडिक्स टोली लिएर बाहिरका बिरामीलाई बिर्तामोड र भरतपुरका अस्पतालमा पुर्याउँदै आएका छौं ।’ बिरामीलाई अस्पताल पु¥याएपछि स्वास्थ्यकर्मीको टोलीसहित काठमाडौं फर्कने गरिएको उनले बताए ।
यतिखेर विभिन्न कम्पनीका हेलिकप्टरको एयरलिफ्टिङमार्फत संक्रमितलाई काठमाडौं हुँदै नेपालगन्ज, बिर्तामोड, भैरहवा र भरतपुर पु¥याइएको उनले जानकारी दिए। लामो दुरीको उडान भएसँगै एयरलिफ्टिङको भाडादर स्वतः वृद्धि हुने उनले बताए। ‘हामीलाई तोकेको भाडादर भनेको प्रति घण्टा १५ सय अमेरिकी डलर हो। यसको अलावा स्वास्थ्य सामाग्री, पारामेडिक लगायतलाई दिइने खर्चबापत अतिरिक्त डेढ लाख रुपैयाँसम्म पर्न आउँछ,’ उनले भने।
यतिखेर भरतपुर र बिर्तामोड लगायत दुई क्षेत्रमा रहेका अस्पतालमा जानका लागि बिरामीका परिवारले एयरलिफ्टीङको सेवा लिँदै आएको श्री एयरका प्रवक्ता अनिल मानन्धरले बताए। ‘उपत्यका बाहिर संक्रमित बिरामीको उपचारका लागि यतिखेर भरतपुर र बिर्तामोड लगिँदै आइएको छ। कतिपय अवस्थामा मौसम प्रतिकूलताका कारण उडान समयमा हुन सकेको छैन,‘ उनले भने।
पछिल्लो समय भरतपुरमा एयरलिफ्टिङमार्फत बिरामीहरू काठमाडौं, धनगढी, भैरहवा लगायत विभिन्न ठाउँबाट उपचारका लागि ल्याइन थालिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए। उनक अनुसार यतिबेला भरतपुरका तीनवटै अस्पतालमा बिरामीको चाप छ ।
तीनवटै अस्पतालका भेन्टिलेटरसहितका बेड र आइसीयू लगभग भरिभराउ भइसकेका छन् । बिरामीको चाप धान्न अस्पतालले जेनरल वार्डमै बेड र उपकरण व्यवस्था गरेर चिकित्सक टोली परिचालन गरेका छन्। ’कोरोनाका बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल क्यान्सर अस्पताललाई १४० बेड विस्तार गर्न निर्देशन दिएका छौं,’ शाहीले भने।
जिल्ला प्रशासन कार्यलय चितवनले विभिन्न अस्पताललाई प्रसूति र आकस्मिक सेवा बाहेकलाई कम प्राथमिकतामा राख्दै कोभिड संक्रमितको उपचारलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिइसकेको जानकारी उनले दिए।