देवचुली,
“आऊ युवा,उठ युवा,जाग युवा” भन्ने मूल नाराका साथ स्थापना गरिएको खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठानले संकलन गरेको अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री देवचुली नगरपालिकालाई हस्तान्तरण गरेको छ । नयाँ भेरियन्ट सहित विश्वभर फैलिएको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठानले बुधबार देवचुली नगरपालिकाको परिसरमा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
गत बैशाख २० गते एम्बुलेन्स अभावमा कोरोना संक्रमित खेम शर्मा काफ्लकोे मृत्यु भएपछि देवचुलीका युवाहरु एकजुट भई “खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठान” समिति गठन गरि “अक्सिजन सिलिन्डर बैंक” स्थापना गरेका थिए । अक्सिजन सिलिन्डर बैंकको स्थापना गरेसँगै देश तथा विदेशबाट सहयोग आएको थियो । पहिलो चरणमा देवचुली नगरपालिका स्वास्थ्य शाखालाई २३ वटा अक्सिजन सिलिन्डर, ५ सेट ग्राउन, ५ वटा पि.पि.आई सेट, ३० पोका फेस मास्क, २ वटा थर्माे गन, १ सय वटा फेस शिल्ड, २० वटा अक्सिजन मास्क, १० वटा थर्माेमिटर, १० वटा अक्सिजन रेगुलेटर र २ वटा अक्जोमिटर हस्तान्तरण गरिएको छ ।
कोरोनाको भयवह अवस्थामा देवचुली नगरपालिकाका कोही पनि संक्रमितको अक्सिजन अभावका कारण मृत्यु नहोस भन्ने उद्धेश्यले अक्सिजन सिलिन्डर बैंकको स्थापना गरिएको स्मृतिका संयोजक बसन्त पोख्रेलले ह्याप्पी टाइम्सलाई जानकारी दिनुभयो । उहाँले यस अभियानलाई निरन्तरता दिने र पुन नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने बताउनुभयो ।
सामाग्री हस्तान्तरण गर्दै स्मृतिका कोषाध्यक्ष चिरञ्जीवी पाण्डेले अजै पनि आइसोलेशनको काम बाँकी रहेको र उक्त कार्य छिटोभन्दा छिटो नगरपालिकाको सहयोगमा निर्माण गर्ने बताउनुभयो ।
उक्त सामाजिक कार्यमा जोडिएर सहयोग गर्ने सहयोगीलाई देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको छ । श्रेष्ठले कोरोना न्यूनिकरणका लागि युवाहरुको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभ्एको थियो ।