क्रसर उद्योगी, जलविद्युत उत्पादक र ग्रिल व्यवसायीले आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् । कोभिड-१९को महामारी बढ्दै गएपछि देशभर नै अक्सिजन सिलिन्डरको अभाव देखिएको छ ।
यसका कारण कतिपयले ज्यान समेत गुमाउन थालेपछि उद्याेगी/व्यवसायीले घोषणा गरेर नै अक्सिजन सिलिन्डर सरकारलाई दिन सुरु गरेका हुन् ।
नेपाल क्रसर तथा खानी उद्योग महासंघले एक अपिल सार्वजनिक गर्दै राष्ट्रिय विपद्को यो समयमा आफ्नो उद्योगसँग रहेका सबै अक्सिजन सिलिन्डर स्थानीय सरकारमार्फत नेपाल सरकारलाई उपलब्ध गराउन आहृवान गरेको छ ।
महासंघले आफ्नो जिल्ला तथा प्रदेश संघमा रेकर्ड राखेर सबै उद्योगमा रहेका खाली तथा अक्सिजन भरिएका सिलिन्डर सरकारलाई उपलब्ध गराउन उद्योगीहरुलाई आह्वान गरेको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै भएको अक्सिजन अभावप्रति महासंघको ध्यानाकर्षण भएको महासचिव पुरुषोत्तम रेग्मीले बताएका छन् ।
रेग्मीका अनुसारका अहिले देशभर ६ सय हाराहारी क्रसर उद्योग दर्ता भएका छन् । एउटा उद्योगमा कम्तिमा २ देखि बढीमा १५-२० वटासम्म सिलिन्डर रहेको हुन्छ ।
महासंघले देशैभर रहेका उद्योगबाट अक्सिजन सिलिन्डर सरकारलाई दिने निर्णय गरेको हो । यसअनुसार देशभरबाट करिब ३ हजार देखि ३५ सयसम्म सिलिन्डर जम्मा हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
राजधानी र मूख्य शहर आसपासमै धेरैजसो क्रसर उद्योग रहेका कारण संकलनमा समेत समस्या नहुने उनको भनाई छ । ‘हामी मुलुक र जनतामा परेको संकटमा थोरै भएपनि मल्हम लगाउन चाहन्छौं,’ उनले भने । रेग्मीले आफ्नो धादिङस्थित उद्योगमा रहेका ६ वटा सिलिन्डर स्थानीय तहमा हस्तान्तरण गरेको समेत जानकारी दिए ।