देवचुली,
देवचुली नगरपालिकामा कोभिड–१९ रोकथामका लागि स्थानीय सरोकारवालाहरु चनाखो हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथी रहनुभएका देवचुली वडा नं १३ का वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले बताउनुभएको छ । बुधबार देवचुली नगरपालिका वडा नं १३, १४ र १५ का स्थानीय सरोकारवालाहरुलाई कोभिड–१९ रोकथामका लागि सचेतनामुलक अभिमुखीकरण कार्यक्रममा सो कुरा खत्रीले बताउनुभएको हो ।
उहाँले अघिल्लो बर्ष भन्दा यस बर्ष नयाँ भेरियन्ट सहितको कोरोना भाईरस फैलिएकाले कसैले पनि यसलाई सामान्य नलिन अनुरोध गर्नुभएको थियो । यो समयमा वडाका टोल विकास समितिका पदाधिकारीहरुले सहि सुचना सम्प्रेषण गरि विदेशबाट आउने जोकोहीलाई पनि सहजीकरण गर्ने साथै वडा तथा नगरपालिकालाई जिम्मा लगाउनुपर्ने बताउनुभएको थियो ।
कोभिडको समय रहेकाले भिडभाड नहोस भन्नका लागि कार्यक्रमलाई दुई ठाउँमा विभाजन गरिएको थियो । वडा नं १३ का पदाधिकारीहरुलाई देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले प्रशिक्षण गर्नुभएको थियो भने वडा नं १४ र १५ का पदाधिकारीहरुलाई देवचुली नगरपालिका स्वास्थ्य शाखा सि.अ.हे.व अधिकृत शिव पराजुलीले प्रशिक्षण गर्नुभएको थियो ।
विशेषगरि कोरोना भाईरस अन्य जिल्लाहरुमा फैलिरहेको समयमा नवलपुरको देवचुलीमा संक्रमणको रोकथामका लागि स्थानीय सरोकारवालाहरुको कस्तो भूमिका रहन्छ भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा कोरोनाका लक्षणहरु कस्ता हुन्छन् , लक्षण देखिहाले के गर्ने, कोरोना सर्ने माध्यमहरु, कोरोना लागि हाले के–के कुरालाई ध्यान दिने जस्ता विभिन्न विषयमा प्रशिक्षण गरिएको थियो ।
कार्यक्रममा प्रगतिनगर स्वास्थ्य चौकीका प्रमुख लोकनाथ अर्याल, स्वास्थ्य स्वयंसेविका लगायत देवचुली वडा नं १३, १४ र १५ का विभिन्न टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।