आजभन्दा करिब १४ महिना अघि कोभिड १९ को पहिलो लहरले विश्वलाई आक्रान्त बनाउँदै थियो । कोराना संक्रमणको महामारीबाट जोगिन के गर्ने र कसो गर्ने भन्ने अन्यौल थियो । यसबाट बच्ने कयौं उपायबारे चर्चा र बहस सुरु भए ।
प्रारम्भिक रूपमा कोभिडबाट बच्न विश्व स्वास्थ्य संगठनले सुरक्षाको न्युनतम् मापदण्ड जारी गर्यो । ती उपायहरूमध्ये एक थियो ‘गुणस्तरीय ह्याण्ड स्यानिटाइजर’ को प्रयोग । चौतर्फी कोरोनाका बारेका चिन्ता प्रकट हुँदै गर्दा नेपालले पनि सतर्कताका उपायहरू अपनाउँदै थियो । बजारमा स्यानिटाइजरको कालोबजारी सुरु भयो ।
ठीक त्यही बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले स्यानिटाइजरको व्यवसायिक उत्पादन सुरु गर्यो । यसअघि अनुभव नै नभएको कम्पनीले पहिलोपटक २०७७ चैत २ गते एक सय एमएलको बोत्तल र खुल्ला रुपमा जर्किनमा किन्न सकिने गरी स्यानिटाइजर बजारमा ल्यायो ।
उत्पादन प्रक्रिया धेरै कठिन नभएको र बजारको मागलाई पनि सम्बोधन हुने भएपछि कम्पनी अघि बढेको लिमिटेडका सूचना अधिकारी टिकाराम अर्याल बताउँछन् ।
स्यानिटाइजरको नयाँ बजार सृजनासँगै अनाधिकृत बिक्री र प्रयोग पनि बढेको औषधि व्यवस्था विभागको ठम्याइ छ । नेपालमा कुन कुन मुलुकबाट कति स्यानिटाइजर भित्रिन्छ भन्ने एकीकृत विवरण सरकारी निकायसँग छैन
‘एक दिनमा दुई ब्याचमा तीन हजार लिटर स्यानिटाइजर कम्पनीले उत्पादन गर्छ । एक वर्षमा तीन करोड भन्दा बढीको ह्याण्ड स्यानिटाइजर बिक्री गर्न कम्पनी सफल भयो’, सूचना अधिकारी अर्यालले भने ।कोभिड माहामारीको पहिलो लहरदेखि यो वैशाखसम्म आइपुग्दा कम्पनीले तीन करोड रुपैयाँभन्दा बढीको स्यानिटाइजर बिक्री गरेको अर्याल बताउँछन् ।
कम्पनीले बजारमा बिक्री हुने स्यानिटाइजरको कम्तीमा पाँचौं हिस्सा ओगट्ने पनि उनको दाबी छ । कम्पनीका अनुसार देशभरका सरकारी कार्यालयमा यसको खपत उच्च छ । सरकारी अस्पताल, स्वास्थ्य सेवा विभाग, प्रदेश सरकार र जिल्ला अस्पतालमा कुल उत्पादनको ७० प्रतिशत ह्याण्ड स्यानिटाइजर लिमिटेडकै जाने गरेको सूचनामा अधिकारी अर्यालले बताए ।