गत वर्ष कोरोनाका कारण देशका विभिन्न क्षेत्र प्रभावित भए । तर, लकडाउनपछि प्रायः सबै क्षेत्र तंग्रिए, फिल्म क्षेत्रबाहेक । कोरोनाका कारण ९ महिना बन्द भएर गत पुष १० गतेबाट खुलेका सिनेमा हल सरकारले फेरि बन्द गरेपछि हल व्यवसायीको करोडौंको लगानी जोखिममा परेको छ । त्यस्तै, निर्माण भएको फिल्म प्रदर्शन गर्न नपाउँदा निर्माताहरु पनि ठूलो मारमा छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित यस क्षेत्रलाई सरकारबाट कुनै खालको सहयोग प्राप्त भएको छैन । सरकारले फिल्म क्षेत्रलाई सौतेनी व्यवहार गरेको फिल्मकर्मीहरुको गुनासो छ । तर, फिल्म क्षेत्रलाई कोरोनाले पारेको असरबारे सरकार जानकार रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । फिल्म क्षेत्रले के भोगिरहेको छ भन्नेबारे सरकारलाई अवगत रहेको उनले बताए ।
शुक्रवारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल २०२१’ को उद्घाटन गर्दै उनले भने- ‘निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरुदेखि यो क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीको बारेमा सरकार जानकार छ । त्यसको निम्ति हामीले विभिन्न ढंगले प्रयासहरु पनि गरिरहेका छौँ । यो क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर सोचिरहेका छौँ,’ उनले भने ।
फिल्मले राजनीतिक सीमाभन्दा माथि उठेर मानवीय भावना, राष्ट्र र जनताका पीडा र आशासँगै सफलता र विफलतालाई सजिलै पस्कन सक्ने भएकाले फेस्टिभलहरुले अर्को समुदाय, समाज र देशको संस्कृतिलाई चिन्न एकदमै महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । नेपाली फिल्मलाई फेस्टिभलको माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन सरकारले छलफल पनि गर्ने उनको भनाई छ ।