चालु आर्थिक वर्ष ०७७/७८ को नौ महिनाको अवधिमा तनहुँमा एक सय २९ वटा हातहतियार नवीकरण गरिएका छन् । साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रशासन कार्यालय तनहुँबाट एक सय २९ वटा हातहतियार नविकरण भएको हो ।
गत चैत महिनामा तीन वटा मात्रै हातहतियार नवीकरण भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । यसअवधिमा तीन वटा हातहतियार नामसारी गरिएका छन् । सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयको स्वीकृतीमा हातहतियार राख्न पाउँछन् । त्यसको प्रत्येक वर्ष प्रशासन कार्यालयबाट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
यस अवधिमा प्रशासन कार्यालयमा २९ नयाँ संस्था दर्ता भएका छन् भने ६ सय पाँच वटा संस्था नवीकरण भएका छन् । चैतमा मात्रै ९ वटा नयाँ दर्ता र ४६ वटा संस्था नवीकरण गरिएको छ ।
कार्यालयले दुई सय ४२ जनालाई तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरेको छ भने एक जना शरणार्थका लागि यात्रा अनुमति पत्र सिफारिस गरेको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा ५२ मुद्दा दर्ता भएकामा गत आर्थिक वर्षको समेत गरी ७३ मुद्दा फछ्र्यौट भइसकेको छ ।
कार्यालयले गत चैत मसान्तसम्म सात हजार ६९५ वंशजको आधारमा र ८ वैवाहिक अङ्गिकृतको आधारमा नागरिकता वितरण गर्नुका साथै चार हजार २९१ प्रतिलिपि नागरिकता वितरण गरेको जनाएको छ । प्रशासन कार्यालयबाट दुई जनाले नागरिकता परित्याग गरेका छन् । कार्यालयले यस अवधिमा २० पटक बजार अनुगमन गरेको छ । चैतमा मात्रै दुई पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले यस अवधिमा रु दुई करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक प्रशासनिक दण्ड जरीवाना, अन्य प्रशासनिक सेवा शुल्कबाट कार्यालयले रु दुई करोड ३५ लाख २५ हजार सात सय राजश्व सङ्कलन गरेको हो । संस्था दर्ताबाट रु नौ लाख ८३ हजार एक सय २०, हातहतियारबाट रु ८५ हजार तीन सय ५०, राहदानी दस्तुरबाट रु दुई करोड तीन लाख ९५ हजार पाँच सय, न्यायिक प्रशासनिक दण्ड जरीवानाबाट रु २० लाख ५३ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट रु आठ हजार सात सय ३० राजश्व सङ्कलन भएको छ ।