देवचुली,
पछिल्लो समय रोजगारकै लागि दिन प्रति दिन विदेशिने युवाहरुको जमात बढ्दै गएको छ । घरपरिवार र बालबच्चाको सुन्दर भविष्यलाई साकार पार्न आफ्नो जन्मभूमिलाई छोडेर कयौँ दिन विदेशको चक्करमा भौतारिएका युवाहरु कोही बाकसमा त कोही रित्तो हात फर्किएका हुन्छन् । विदेशमा आँफूले गरेको श्रमको राम्रो फल नपाएपछि अन्नत युवाहरु आफ्नै देश फर्किन बाध्य हुन्छन् । अझै भनौँ पछिल्लो समय विश्वभरि फैलिएको कोरोना भाईरसले विदेशीएका युवाहरुलाई स्वदेश र्फकाएको छ । घर फर्किए पछि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मानसिकता भने धेरै युवाहरुमा पलाएको पाइन्छ । लकडाउनको मारले खाली समयलाई सुदपयोग गर्न धेरै युवाहरु विभिन्न पेशामा आबद्ध भएका छन् भने अझै धेरै युवाहरु कृषि पेशामा आकर्षित भएको पाइन्छ ।
यस्तै उद्हारणीय बनेका छन् नवलपुरको देवचुली नगरपालिका वडा नं १२ का युवाहरु । बिहानीको झिसमिसे उजेलीसँगै झमक्कै साँझले उज्यालो नछोपुन्जेल बाख्राको स्याहारमा यहाँका युवाहरु रमाइरहेका छन् । गाउँमा नै युवाहरु एकजुट भएर उन्नत बाख्रा पालन कृषक समूह दर्ता समेत गराएका छन् ।
गाउँकै स्थानीय बाख्रा जुटाएर अहिले सफल व्यवसायीका रुपमा देवचुली १२ गैंडीका चुणमणी भुसाल आफ्नो परिचय बनाउन समेत सफल हुनुभएको छ । सुरुमा १५ वटा बाख्राबाट सुरु गरेका भुसालले अहिले ४५ भन्दा बढि बाख्रा आफ्ना खोरमा पाल्नुभएको छ । बाख्रा पालनबाट भविष्यमा राम्रो आम्दानी हुन सक्ने उहाँको जिकिर समेत रहेको छ । उहाँ उन्नत बाख्रा पालन कृषक समूहको अध्यक्ष समेत हुनुहुन्छ आँफू अहिले सम्म विदेश नगएको र जान ईच्छुक पनि नभएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, विदेश गएका धेरै साथीहरु छन् कोही २५ हजार, कोही ५० हजार त कोही २ लाख समेत कमाउने तर ३५ हजारका लागि आफनो् भएको जग्गा बाजो राखेर विदेश जानेलाई आज नै फर्किन अनुरोध गर्नुहुन्छ । भुसालले यदि कोही बाख्रा पालन गर्न ईच्छुक भए आँफूसँग सल्लाह सुझाब लिन सक्ने समेत बताउनुभयो ।
कोरोना महामारीका कारण बेरोजगारी बनेका युवाहरु कृषिमार्फत गाउँमा नै बाख्रा पालन गरेर स्वरोजगारी बनेका छन् । लकडाउनले गर्दा एक अर्काको घर जान नमिल्ने समयमा घरमै बसेर बाख्रा पालन गरिरहेका अर्का देवचुली १२ गैंडीका भरतबहादुर पौडेललाई कतिबेलै पनि फुर्सद हुँदैन । साढे ३ विग्गाहा जग्गा भाडामा लिएर बाख्रा पालन गरिरहनुभएको छ । करिब १५ लाखको लगानीमा सुरु गर्नुभएको उहाँले हाल ६५ वटा बाख्रा रहेका छन् । भविष्यमा यसैलाई व्यवस्थित गर्दै डेढ सयभन्दा धेरै बाख्रा पाल्ने योजना रहेको पौडेलले बताउनुभयो । बाख्रा पालन गर्न थालेपछि वडाबाट पनि केही सहयोग पाएको र यसले थप हौसला मिलेको उहाँले बताउनुहुन्छ ।
नेपालमा नै आफ्नो परिवारसँग बसेर थोरै लगानीले धेरै आम्दानी गर्न सकिने अर्काे देवचुली १२ गैंडीका पारस अधिकारीले बताउनुहुन्छ । उहाँले बाख्राको लागि व्यविस्थत खोर समेत बनाएर २५ भन्दा बढि स्थानीय विभिन्न जातका बाख्रा पाल्नुभएको छ । भविष्यमा बाख्रा पालनबाट मनग्य आम्दानी गर्ने सोच समेत रहेको बताउनुहुन्छ ।
यस्तै अर्काे हुनुहुन्छ देवचुली १२ गैंडीकै बाबुराम पौडेल उमेरले ५० नाग्नुभयो तर उहाँको काम गर्ने इच्छा भने १६, १७ बर्ष उमेरका ठिटाहरुको जस्तो छ । आँफू सानै हुँदा देखि घरमा बुबाहरुले बाख्रा पालेको स्मरण गर्दै आँफूले पनि यही पेशालाई निरन्तरता दिँदै बाख्रा पालनमा अग्रसर रहेको बताउनुभयो । खाडीमुलुकमा पसिना बगाइरहेका युवाहरुलाई पनि उहाँले आफ्नै गाउँमा परिवारसँग बसेर कृषि पेशातर्फ लाग्न आग्रह गर्नुहुन्छ ।
करिब १० बर्ष मलेशिया र कतारमा केही आशामा भौतारिरहनुभएका अर्का देवचुली १२ का भुवानी प्रसाद काफ्ले अहिले स्वदेशमा नै बाख्रा पालनमा व्यस्त हुनुहुन्छ । गतबर्ष देखि सुरु गर्नुभएको बाख्रा पालन अहिले ५० वटा रहेको छन् । बिस्तारै लगानी गर्दै २ सय भन्दा बढि बाख्रा बनाउने सोचमा हुनुहुन्छ । आँफू अहिले परिवारसँगै दुःखसुखमा साटासाट गर्न पाउँदा निकै खुशी देखिनुहुन्थ्यो । आँफूहरुले पालेका बाख्राहरुलाई बेच्नलाई पनि घरमा नै ग्राहक आउने गरेको काफ्लेले बताउनुहुन्छ ।
स–साना देशमा पुगेर केही बर्ष बसेपछि स्वदेशमा नै विभिन्न पेशामा आबद्ध हुने धेरै युवाहरु छन् तर जापन जस्तो देशमा करिब ७ बर्ष बसेर नेपालमा नै आएर बाख्रा पालन गर्ने भने कमै भेटिन्छन् । यस्तै एक हुनुहुन्छ देवचुली १२ लक्ष्मीपुरका रबिन्द्र काफ्ले उहाँले ७ बर्ष जापन बसेर धेरै कुरा सिकेको र अहिले गाउँमा नै आएर कृषिमा केही लगानी गर्नुपर्छ भन्ने सोच राख्नुहुन्छ । साथीभाइ, घरपरिवारले जापनबाट आएर पनि बाख्रा पालन गर्ने जस्ता धेरै प्रश्न गर्दा पनि आँफू यसै पेशामा खुशी रहेको बताउनुहुन्छ । भविष्यमा बाख्रा पालन र हाँस पालन गर्ने आफ्नो सोच रहेको बताउनुभयो । पछिल्लो समय नेपाल सरकारले कृषिमा धेरै लगानी गरिरहेकाले पनि नयाँ पुस्ताका युवाहरु कृषिमा आबद्ध हुन आजको आवश्यकता रहेको काफ्लेले बताउनुभयो ।
गाउँमा बाँझिएका जग्गालाई भरपुर उपयोग गर्दै उद्यमशीलताको विकासतर्फ रोजगार सिर्जना गरि समृद्धिको आधार बनाउनु वर्तमान आवश्यकता रहेको कृषकहरुले बताएका छन् ।