देवचुली,
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको देवचुली उद्योग वाणिज्य संघको ४ दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ। संघले वैशाख ३ गतेबाट ६ गतेसम्म गण्डकी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको हो। कास्कीको लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा उद्योग वाणिज्य संघ, बागलुङको बागलुङ उद्योग वाणिज्य संघ, म्याग्दीको म्याग्दी उद्योग वाणिज्य संघ, पर्वतको पर्वत उद्योग वाणिज्य संघमा औपचारिक कार्यक्रम नै गरि अवलोकन गरेको छ भने मुस्ताङ उद्योग वाणिज्य संघ र बागलुङ उद्योग वाणिज्य संघमा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो। स्थापनाको लामो कालखण्ड पार गरेका उद्योग वाणिज्य संघहरुको अनुभव र इतिहास अध्ययनको केन्द्रबिन्दु बनाएर भ्रमण तय गरिए अनुरुप नै विभिन्न उद्योग वाणिज्य संघमा कार्यक्रम नै आयोजना गरिएको थियो। गण्डकी प्रदेशमा रहेका मुक्तिनाथ, गलेश्वर धाम, बागलुङ कालिका, तिरुपती बालाजी, शालिग्राम संग्रहालय, रुप्से झरना लगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यको अवलोकन गरि आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ।
लेखनाथ उद्योग वाणिज्य संघ : देश कै उत्कृष्ट उ.वा.संघ
कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि देवचुली उद्योग वाणिज्य संघलाई स्वागत तथा छलफल कार्यक्रम गर्यो। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षता तथा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष ढकालले लेखनाथ उद्योग वाणिज्य संघ वि.सं. २०५४ सालमा ८० जना सदस्य सहित स्थापना भई मिहिनेत र लगनले "घ" बर्गको उद्योग वाणिज्य संघबाट "क" बर्गको उद्योग वाणिज्य संघ बन्न सफल भएको बताउनु भयो। १६ औं लेखनाथ महोत्सवबाट ८२ लाख आम्दानी गरेको बताउँदै उहाँले सो रकम संघमा आवद्ध ब्यवसायीको हितमा खर्च गरिएको बताउनु भयो। संघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य लक्ष्मीप्रसाद त्रिपाठीले संघले स्थापना कालमा भक्तपुर उद्योग वाणिज्य संघसँग सिस्टरशिप सम्बन्ध स्थापना गरि कार्ययोजना बनाएको चित्रण गर्दै २०५४ मा सुन्तला प्रदर्शनी, २०६० मा शुपथ मूल्य पसल सञ्चाल्न तथा २०६१ सालबाट महोत्सव आयोजना गर्न सुरु गरिएको बताउनुभयो। संघका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य बाबुराम गिरिले लेखनाथ उद्योग वाणिज्य संघ " नेभर सेकेण्ड" को अवधारणामा अघि बढ्दै २०७५ मा देशभरबाट उत्कृष्ट उद्योग वाणिज्य संघ भएको बताउनु भयो। कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख अतिथी रेशमलाल सापकोटाले देवचुली उद्योग वाणिज्य संघ २०७१ मा स्थापना भई दुईवटा महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताउनुभयो। लेखनाथ उद्योग वाणिज्य संघको कार्यगत एकता र कार्यसम्पदानको शैली अनुकरणीय रहेको बताउनु भयो । छलफल कार्यक्रमको सहजीकरण संघका महासचिव गोपीचन्द्र वास्तोलाले गर्नुभएको थियो।
पोखरा उद्योग वाणिज्य संघ : महोत्सव गर्ने परिपाटीको सुरु
कास्कीको पोखरा उद्योग वाणिज्य संघले पनि भेटघाट तथा स्वागत कार्यक्रमको आयोजना गर्यो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद कोइरालाको अध्यक्षता तथा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। वि.सं.२०११ माघ २५ गते स्थापना भएको पोखरा उद्योग वाणिज्य संघमा हाल ३ हजार १ सय ८८ सदस्य रहेको अध्यक्ष कोइरालाले बताउनुभयो। संस्थाको इतिहास र वर्तमान अवस्थाका बारेमा चित्रण गर्दै अध्यक्ष कोइरालाले पोखरा उद्योग वाणिज्य संघले नेपालमा वि.सं. २०४१ सालबाट मेला-महोत्सबको थालनी गरेको बताउनु भयो। पोखरा उद्योग वाणिज्य संघले च्याम्बर भिलेज बनाई पर्यटन र कृषिको बिकास गरेको सो अवसरमा जानकारी गराईएको थियो। आफ्ना भनाई राख्दै प्रमुख अतिथि रेशमलाल सापकोटाले भ्रमणको उद्देश्य माथी प्रकाश पार्दै पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेशका उद्योगी ब्यवसायीका समस्या समाधानमा पहलकदमी गर्ने विश्वास ब्यक्त गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा भएको भेटघाट कार्यक्रमको सहजीकरण संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले गर्नुभएको थियो।
म्याग्दी उद्योग वाणिज्य संघ : घरेलु उद्योगको हब
देवचुली उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको दोश्रो दिन म्याग्दी उद्योग वाणिज्य संघले स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमको अध्यक्षता म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली उद्य्प्ग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा आफ्ना मन्तव्य राख्दै म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कपिलकुमार श्रेष्ठले गण्डकी प्रदेशलाई सम्पन्नशाली प्रदेश बनाउन नवलपुरको कृषि उत्पादन र हिमाली जिल्लाको पर्यटनको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। संघका पूर्व अध्यक्ष जीवनबहादुर बिकले नवलपुर जिल्लालाई अन्नको भण्डारका रुपमा चित्रण गर्नुभयो। कार्यक्रममा आफ्ना मन्तब्य राख्दै संघका प्रथम उपाध्यक्ष शाक्यले म्याग्दीमा ठूला उद्योग कलकारखाना भन्दा घरेलु उद्योग धेरै भएको बताउनुभयो । उहाँले म्याग्दीमा ८ हजार भन्दा बढी उचाईका ८ वटा हिमाल रहेको बताउँदै म्याग्दीमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै म्याग्दी जिल्ला हाइड्रोको हब बन्न सक्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले नवलपुरको उत्पादन म्याग्दी र अन्य हिमाली जिल्लासम्म पुर्याउन देवचुली उद्योग वाणिज्य संघ सकारात्मक रहेको बताउनुभयो। वि.सं. २०२७ सालमा स्थापना भएको म्याग्दी उद्योग वाणिज्य संघमा हाल २ हजार २ सय सदस्य संख्या रहेका छन् ।
पर्वत उद्योग वाणिज्य संघ : बिकास निर्माणमा पहलकदमी
पर्वत उद्योग वाणिज्य संघले देवचुली उद्योग वाणिज्य संघलाई स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरि जिल्लामा स्वागत गरेको छ। भेटघाट कार्यक्रमको अध्यक्षता पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले गर्नुभएको थियो। संघको ३८ औं साधारणसभा तथा १७ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछी संघमा काम गर्ने ब्यवसायीको प्रतिनिधित्व भएको वक्ताहरुले बताए। कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले कुश्मा बजार कालोपत्रे, यान्त्रिक पुल निर्माण, २०७६ सालमा ६० लाखको लगानीमा खेलमैदान बनाउन स्थानिय सरकारसँग समन्वय गरिएको बताउनुभयो। उहाँले विश्व कै दोश्रो अग्लो बञ्जी जम्प, जीप फ्लायर, नेपालकै ६ वटा अग्ला झोलुङ्गे पुल पर्वत मै रहेको बताउँदै मोदी परियोजना, केबलकार निर्माण जस्ता योजना कार्यान्वयनमा पर्वत उद्योग वाणिज्य संघले भूमिका खेलेको बताउनु भयो। वि.सं. २०३२ सालमा स्थापना भएको पर्वत उद्योग वाणिज्य संघमा हाल ३ हजार ५ सय सदस्य रहेका छन् । उद्योग वाणिज्य संघको सदस्यता लिएको एक बर्ष पुगेका ब्यवसायीलाई मात्रै मताधिकार रहेको पर्वत उद्योग वाणिज्य संघमा उत्पादनमुलक भन्दा सेवामुलक ब्यवसाय धेरै रहेका छन् । समुद्री सतहबाट ३ सय मिटरदेखि ३ हजार ३ सय मिटर सम्मको उचाइ, शालिग्राम शिला पाइने ठाउँ तथा जडिबुटीको प्रशस्त सम्भावना रहेको जिल्लाका रुपमा पर्वत रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । साथै उहाँले पर्वतमा लप्सी प्रवर्द्धन, अल्लोका कपडा, कफी निर्यात, सुन्तला उत्पादन जस्ता कार्यमा पर्वत जिल्ला अग्रसर रहेको अध्यक्ष अधिकारीले बताउनुभयो। कार्यक्रममा बिल्दै प्रमुख अतिथी सापकोटाले देवचुली नगरपालिकामा प्राकृतिक उपचारका लागि सामुदायिक प्राकृतिक चिकित्सालय रहेको बताउँदै नेपाल सरकारको उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्न सफल शाश्वतधाम पनि नवलपुरमै पर्ने हुनाले भ्रमणका लागि पर्वतेली जनतालाई निम्तो गर्नुभयो। कार्यक्रमको समापन गर्दै संघका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले नवलपुर कान्छो जिल्ला भए पनि उद्योग वाणिज्यको काममा ज्येष्ठता देखाएको बताउनुभयो। कार्यक्रमको सहजीकरण संघका कार्यालय प्रमुख टंक पौडेलले गर्नुभएको थियो।
चन्द्र ढकालसँग जम्काभेट!
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसँग देवचुली उद्योग वाणिज्य संघका भ्रमण टोलीको भेटघाट तथा छलफल भएको थियो। पर्वत उद्योग वाणिज्य संघको स्वागत कार्यक्रमपूर्व वरिष्ठ उपाध्यक्ष ढकालसँग भेट भई देवचुलीमा लगानी गर्ने विषयमा कुराकानी भएको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले बताउनु भयो। उद्योगपती ढकाल लगानी गर्न सकारात्मक रहेको उहाँको भनाई रहेको छ।
गण्डकी प्रदेशको ४ दिने अध्ययन अवलोकन भ्रमणमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, संस्थापक अध्यक्ष धर्मराज बस्याल, बरिष्ठ उपाध्यक्ष सत्यनारायण भुसाल, वाणिज्य उपाध्यक्ष लोकप्रसाद भुर्तेल, महासचिव सुर्यप्रसाद दवाडी, लगायत २२ जनाको सहभागीता रहेको थियो।