देवचुली,
बेरोजगार युवाहरुलाई रोजगारी दिने उद्धेश्यले सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम देवचुली नगरपालिकामा पनि प्रभावकारी देखिएको छ । देवचुली नगरपालिकाको रोजगार सेवा केन्द्रबाट “युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना” संघीय बजेट र स्थानीय बजेटको साझेदारीमा संचालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देवचुलीका विभिन्न वडाबाट ५ सय ६३ जनाले रोजगार पाएका छन् । सरकारले आर्थिक बर्ष २०७७/०७८ का लागि “युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना” अन्तर्गत संघबाट ५१ लाख ७० हजार देवचुली नगरपालिकाको १७ वटै वडामा समान्तर विनियोजित गरि श्रममुलक आयोजनाहरु संचालन भईरहेको देवचुली नगरपालिकाका रोजगार संयोजक अनिता ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले संघबाट प्राप्त बजेट श्रमको पारिश्रमिकमा दैनिक ५ सय १७ को दरले खर्च गर्न पाइने भएकाले प्राथमिकतामा परेका, काम गर्न ईच्छुक प्रत्येक वडाका १० जना सुचिकृत बेरोजगारलाई ५८ दिनको रोजगारी दिइरहेको बताउँदै देवचुलीका १ सय ७० जनाले ५८ दिनको रोजगार पाइसकेको बताउनुभयो । देवचुली नगरपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजन अन्तर्गत २, ६, ७, ८, ९, ११, १३ र १४ गरि ८ वटा वडाका लागि ८ आयोजना सम्पन्न भइसकेको र बाँकी ९ आयोजनाहरु सम्पन्न हुने क्रममा रहेको ज्ञवालीले बताउनुभयो । जसमा देवचुली वडा नं १ का २४ जना, वडा नं २ का ७८, वडा नं ३ का १०, वडा नं ४ का ७४, वडा नं ५ का ३२, वडा नं ६ का ५०, वडा नं ७ का २०, वडा नं ८ का २५, वडा नं ९ का ६५, वडा नं १० का ४३, वडा नं ११ का ३४, वडा नं १२ का ०, वडा नं १३ का ३०, वडा नं १४ का ५१, वडा नं १५ का ०, वडा नं १६ का ० र वडा नं १७ का २७ गरि महिला २ सय ८२ र पुरुष २ सय ८१ ले प्रधानमन्त्री रोजगार पाएका छन् ।
आफ्नो गाउँघरको विकास पनि हुने रोजगारी पनि प्राप्त भएपछि सूचिकृत बेरोजगारहरु खुशी भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हाल देवचुलीका विभिन्न वडामा काम भईरहेको छ । कार्यक्रम मार्फत बाटोघाटो निर्माण, सरसफाई, चौतारा निर्माण जस्ता विभिन्न कामहरु भइरहेका छन् ।