‘नानी साइली हजुरआमा त सिरियस हुनुहुन्छ, काठमाडौं मेडिसिटी अस्पातलमा हुनुहुन्छ । आज बिहान खबर सुन्दा बित्तिकै तेरो बाबा जाँदै हुनुहुन्छ, अघि भर्खरै निस्कनु भएको हो। मुग्लिन पुग्न लाग्नुभो होला,’ आमा हतारिँदै असिनपसिन भएर भन्दै हुनुहुन्थ्यो।
हिजो साँझ फुपुलाई फोन गर्दा ‘भोलि झिक्ने हो नानी हजुरआमालाई ठिक हुँदैछ’ भनेको सुनेर सुतेको मान्छे म, भोलिपल्ट साँझ आमालाई फोन गर्दा आमाका यी शब्द सुनेपछि कानका जरा तातेर, गाला राता भएर आयो। त्यही पनि ‘चिन्ता नगर्नू, ठिक हुन्छ, के/के हुन्छ मलाई अपडेट गराउँदै गर्नु होला, अहिले राखेँ’, भन्दै आमाको अघि दह्रो भएर फोन काटेँ। मुटुले ठाउँ छोडिसके पनि आमालाई हिम्मत दिएँ।
जीउ तातेर ज्वरो आउलाजस्तो भयो। सिटामोल खाएर ओछ्यानमा पल्टिएँ।
तर आमाले भनेका कुरा बारम्बार कानमा गुन्जिरह्यो। काम र पढाइको चापले हजुरआमालाई त्यति भेट्न पाउँदिन थिएँ। तर हप्ताको अन्तिम दिन भने भेट भएकै हुन्थ्यो। त्यतिबेला हजुरआमा गुनासो गर्नुहुन्थ्यो, ‘नातिनी, हजुरआमालाई बिर्सिस् है, सबै टाढा छन्। तँ आउँथिस्, तैं पनि आउन छोडिस है" भन्दै। हजुरआमालाई मैले र हजुरआमाले मलाई देख्दाको त्यो खुसी दुबै अनुहारमा बेग्लै हुन्थ्यो। सँगै बस्दा पनि राति सँगै सुत्दा अरूसँग मन फुकाएर गर्न नसकेको कुरा हजुरआमाले ‘तैंले त कसैलाई भन्दिनस् नातिनी’ भन्दै कहिले हाँस्दै त कहिले आँसु बगाएर स्वर्गीय साइलो हजुरबुवालाई सम्झँदै कुरा गर्नुहुन्थ्यो। अनि हामी सँगै रूँदै एकअर्काको आँसु पुछ्दै रात कटेको पत्तै हुँदैन्थ्यो। तर अहिले हजुरआमालाई भेट्न त परको कुरा भैगयो। सात समुन्द्रपारि छु। विगत सम्झेर कतिबेला आँसुले सिरानी भिजेछ पत्तै भएन।
‘फलानाको छोरीलाई बिहे गरेर कति टाढा पठाएछन्, तँलाई त यतै वर परको घर खोजेर दिने हो। टाढा गइस् भने त कसरी भेट्न आउचेस्। यसलाई त यतै नजिक खोज्न पर्छ है। बिहे गरेर दिने घरकाइँली’, भन्दै दुइटी हजुरआमा कुरा गर्दैगर्दा बीचमै कुरा काटेर जिस्काउँदै भन्ने गर्थें, ‘म कहीँ जाने वाला छैन हो बुढी हजुरआमाहरू हो। चिन्ता गर्नै पर्दैन।
‘हामीलाई कुरेर बस्ली त काइँली यो?’ भन्दै दुबै हजुरआमा एक अर्काको अनुहार हेर्दै बात मारेको सम्झना झलझली याद आयो। मन थामिएन आँखा भरिएर आए।
‘टाढा नपठाउने भनेको, आफैं झोला बोकेर देश नै छोडेर हिँडिस्, नातिनी। कहिले आउचेस्, छिटो आएस् है नारायण चोकतिर लगेर चटपट खुवाउँछु। हामी त डाँडामाथिको घाम भैसक्यौं, छिटो आइनस् भने त के भेट होला र?’, भन्दै बिदाइ गरेको त्यो दिन अहिले पनि सम्झन्छु।
हजुरआमा बेला मौका आफैं फोन गर्नुहुन्थ्यो। कोरोना महामारी भएको भन्दै बाहिर हिँड्डुल नगर्न सुझाउनु हुन्थ्यो।
अनि भन्नुहुन्थ्यो-कोरोनाको खोप निस्कियो भन्या छन्, लगाएपछि त आउलिस् नि, आइज है तेरो अत्यार लाइसक्यो। तेरी आमालाई भन्दा बढी, न्यास्रो लाछ मलाई तँ नहुँदा । भनेर बोली राख्ने हजुरआमा बोल्नु नै भएको छैन रे।
कति दिनदेखि होस नै आ’छैन रे। खै अब त धेरै आश छैन रे भनेको सुन्दा टेकिरहेको पृथ्वी भासिएजस्तो भयो। आकाश आफ्नै छातीमाथि बजारिएजस्तो भयो।
केही दिनको अन्तरलामा फेरि फूपूलाई फोन गरें। हजुरआमालाई कस्तो छ भनेर सोधें। फूपूले भिडिओ पठाउनुभयो। भिडिओ एकचोटि होइन पटकपटक हेर्दा पनि मन भरिएन।
हजुरआमा हस्पिटलको बिस्तारामा उठेर बोलिरहेको देख्दा आँसु कतिखेर हाँसोमा परिणत भयो थाहा नै भएन।
भगवानमा पूर्ण रूपमा विश्वास नगर्ने मेरो पुस्ता पनि, सायद यस्तै अप्रत्यासित खुसी मिल्दा नै भगवान हुनुहुन्छ जस्तो भानमा पर्न बाध्य भइने रहेछ।
हजुर स्वास्थ्यको ख्याल गर्नु हजुरआमा, नातिनी हजुरआमाको भेट छिट्टै पक्कै हुनेछ।
नाताले त हजुर साइली हजुरआमा, म काइँलो हजुरबुवाको नातिनी। दुनियाँलाई यो सम्बन्ध यति खास त हुन नपर्ने हो जस्तो लाग्न सक्छ तर हाम्रो कूलको सम्बन्ध यति खास छ कि, हामीबीचको स्नेह र प्रेमले कहाँनिर पारिवारिक हाँगा फाटेको छ कसैले थाहा पाएको छैन।