देवचुली,
ईम्बक्स नवलपरासीको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार दलदलेको साहारा पार्टी प्यालेसमा साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा अध्यक्षता ईम्बक्स नवलपरासीका अध्यक्ष शिव देवकोटाले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई रहनुभएको थियो । यसैगरि विशिष्ट अतिथीका रुपमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलले रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएकी प्रमुख जिल्ला अधिकारी पंगेनीले ईम्बक्स नवलपरासीले सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि गुण्स्तरीय शिक्षा प्रदान गरेको बताउनुभएको थियो । उहाँले अब अभिभावकहरुले ढुक्क भएर सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन आग्रह गर्दै भविष्यमा ईम्बक्सले समाजमा सकारात्मक परिवर्तन गर्नका निम्ति आफ्ना भूमिका खेल्न समेत अनुरोध गर्नुभएको थियो ।
पाँचौ बार्षिक साधारण सभाको अवसर पारेर ईम्बक्स नवलपरासीले नवलपुर जिल्लाका ५ पालिका देवचुली, गैंडाकोट, कावासोती, हुप्सेकोट, मध्यविन्दुका एस.ई.ई मा उत्कृष्ट अंक ल्याउने ४१ जना विद्यार्थी, बि.एल.ई मा उत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थी, एभरेज स्कोर हाई मध्य भीमसेन आदर्श नमुना मा.वि, उत्कृष्ट नम्बर ल्याउने नवलपुरका प्रत्येक पालिकाका १/१ जना विद्यार्थीलाई सम्मान गरिएको थियो भने पूर्वपदाधिकारी र संस्थालाई सहयोग गर्ने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा ईम्बक्स नवलपरासीका अध्यक्ष शिव देवकोटाले ईम्बक्स नवलपरासीले हाल सम्म समाज राष्ट्र र अन्तराष्ट्रिय स्तरमा भईरहेको शैक्षिक विकास र वर्तमान युगको मागलाई पुरा गर्ने उद्धेश्यले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गरिएको र नवलपरासीका विभिन्न विद्यालयहरुमा विगतका समय देखि अंग्रेजी माध्यमबाट पठ्नपाठन हुँदै आएको कुरा जानकारी गराउनुभएको थियो । उहाँले ईम्बक्स नवलपरासीबाट २०७७/०७८ र हाल सम्म भएका अतिरिक्त क्रियाकलापका बारेमा जानकारी समेत गराउनुभएको थियो ।
कार्यक्रममा आर्थिक बर्ष २०७६/०७७ को असार मसान्त सम्मको संस्थामा भए गरेका आय व्यय विवरण कोषाध्यक्ष ऋषिराम शर्माले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा ईम्बक्समा आबद्ध विद्यार्थी, विद्यालयका प्रधानाध्यापक, विभिन्न व्यक्तिहरुलाई सम्मानसँगै सांस्कृतिक प्रस्तुतीहरु पनि गरिएको थियो । कार्यक्रममा ईम्बक्स नवलपरासीका उपाध्यक्ष राम बहादुर राना मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण ईम्बक्स नवलपरासीका सचिव रेशम कोइरालाले गर्नुभएको थियो ।
वि.स २०७१ सालमा स्थापना भएको ईम्बक्स नवलपरासीमा हाल सम्म १ सय ३४ वटा विद्यालयहरु आबद्ध रहेका छन् ।