ह्विलचियरमा हिंड्ने तेजबहादुर घर्ती मगर बिरामी छन् । उनी आइतबार वीर अस्पतालमा स्वास्थ्य जाँच गराएर आफूजस्तै अपाङ्गता भएका साथी भरतबहादुर कार्कीसँग दिउँसो भृकुटीमण्डप आए, जहाँ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी झरिरहेको धारा उद्घाटन गरेकी थिइन् ।
उनीहरुले धारामा फोटो खिच्नेहरुको भीड देखे । त्योसँगै मगरलाई अघिदेखि तिर्खा लागेको सम्झना भयो, तर धाराको पानी खान सकेनन् । अग्लो ठाउँमा राखिएको धाराको पानी खस्ने भागमा खाल्डो छ । त्यो होचो भागलाई करिब एक फिट अग्लो सिमेन्टको डिल लगाएर छेकिएको छ । त्यो डिल नाघेर ह्विलचियर लैजान मिल्दैन । त्यहाँबाट झर्न सिंढी ओर्लिनुपर्छ ।
कसैले बोकेरै भित्र लगिदिए पनि ह्विलचियरमा बसेर पानी खान मिल्दैन । धारा खोल्दा साँघुरो खाल्डो पूरै ढाकिने गरी ह्वाल्ल पानी आउँछ । तीनवटा धारामध्ये दुई छेउका धाराको टुटी ह्विलचियरबाट खोल्न मिल्दैन । बालबालिका र होचा–पुड्का अपांगता भएकाले भेट्न नसक्ने गरी टुटी राखिएको छ । कोशिश गरेर टुटी खोलिहाले ‘फोर्स’ले आउने पानीले पूरै भिज्ने अवस्था छ ।
यस्तो धारामा मगर र कार्की दर्शक मात्रै भए । अरुले पानी पिएको, फोटो खिचेको हेरे । पानी खोल्न, आँत भिजाउन नमिल्ने धारा अगाडि आफूहरुले पनि फोटो खिचेर खुशियाली मनाए ।
‘पानी थापेर खाने भाँडो थिएन । अरुले बोतल ल्याउँछन् कि भनेर केहीबेर कुर्दा पनि नभएपछि पानी खान नजिकै रहेको राष्ट्रिय अपांग कोषको कार्यालयमा गयौं’ मगरले भने, ‘हामी जस्ता अपांगता भएकाहरुले प्यास मेटाउन नपाउने यस्ता सार्वजनिक धाराको के काम ?’
‘सुझाव पनि मानिएन’
अपांगता भएका रोल्पाली तेजबहादुर घर्तीमगरले काठमाडौंमा मेलम्चीको पानी आउँदा आफूहरु खुशी भने नभएको बताए । ‘भृकुटीमण्डपजस्तो अपांगता भएका व्यक्तिहरुको बाक्लो आउजाउ हुने ठाउँमा बनाइएको धारा अपाङ्गमैत्री नहुँदा निकै बेमज्जा पनि लागेको छ’ उनले भने, ‘कि त सरकारले अपांगता भएकाले यो धारा हेर्ने मात्रै हो भनेर बोर्ड राख्न पर्यो ।’
भरतकुमार कार्की चाहिं यी धारा बनाउने तयारी हुँदै गर्दा यहाँ आइपुगेका रहेछन् । काममा खटिएका इन्जिनियरलाई आफूले धारा अपांगमैत्री बनाउन सुझाव दिएको उनी सम्झन्छन् । चार दिनमा हतार–हतार धारा बनाउनेहरुले सुझाव नसुन्दा आफूहरु प्रयोगबाट बञ्चित हुनुपरेको उनको गुनासो छ ।
कार्कीले अन्तर्राष्ट्रिय कानून, महासन्धि, राष्ट्रिय कानून, नियमावली, निर्देशिका, घोषणापत्र आदिमा अपांग र बालबालिकको लागि पहुँचयुक्त पूर्वाधार बनाउने भनिए पनि राष्ट्रपतिबाट उद्घाटन भएको सार्वजनिक धारा विभेदपूर्ण भएको बताए । उनले भने, ‘सबैले प्रयोग गर्न नसक्ने धारा कसरी सार्वजनिक हुन्छ ?’ सबैको पहुँचमा हुने गरी सुधार भएन भने लिखित निवेदन दर्ता गर्ने उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको धारा समाज कल्याण परिषदको स्वामित्वमा रहेको जग्गामा बनेको हो । नेपालमा महिला, बालबालिका, अपांगता भएका व्यक्तिलगायतको लागि कल्याणकारी काम गर्ने जिम्मेवारी बोकेको सरकारी निकाय हो, परिषद ।
यो धारा परिषदको भृकुटीमण्डपस्थित कार्यालयको आँगनमै छ । अहिले धारा बनाइएको ठाउँमा एक महिना अघि मार्च १ मा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले अन्तर्राष्ट्रिय ह्विलचियर दिवस सुरु गर्दै ह्विलचियरमा आश्रितहरुको सार्वजनिक जीवनलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
अनलाईन खबरबाट