देवचुली,
पुर्वी नवलपुरको देवचुली १६ मा टोल विकास समितिका अध्यक्ष र सचिवहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । बुधबार आभानी मिडिया प्रा.लि.द्धारा संचालित १०३.८ मेगाहर्जको सहजकर्ता र देवचुली वडा नं १६ को आर्थिक सहयोगमा टोल विकास अध्यक्ष र सचिवलाई आफ्ना टोलमा भएका गतिविधि रेडियोमार्फत कसरी प्रस्तुत गर्ने भन्ने विषयमा तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा आभानी मिडियाका प्रबन्धक निर्देशक दिपेश कडरियाको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले गर्नुभएको थियो । यसैगरि कार्यक्रममा कार्यापालिका सदस्य कमला दमाई, वडा सदस्य जानकीदेवि गुरौ, मिनु विश्वकर्मा, केशवराज गौतम, राम बहादुर मगर, देवचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी रहनुभएका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले वडाले समाजमा उपयुक्त हुने पृथक कार्यक्रमहरु गर्दै आइरहेको बताउँदै नेतृत्व विकास तालिमले टोल विकास समितिका अध्यक्ष र सचिवहरुलाई निकै प्रभावकारी पार्ने बताउनुभएको थियो ।
तालिममा आभानी मिडिया प्रा.लिद्धारा संचालित १०३.८ मेगाहर्जका प्रबन्धक निर्देशक दिपेश कडरिया, स्टेशन म्यानेजर आदर्श सुशील र मार्केटिङ्ग म्यानेजर देवराज पौडेलले सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गर्नुभएको थियो । टोलमा हुने कार्यक्रममा अगाडी गएर निर्धक्क सँग कसरी बोल्ने, कस्ता कुराहरु बोल्ने र आफ्नो गाउँमा भएका घटना तथा सुचनालाई रेडियोमा कसरी प्रस्तुत गर्ने जस्ता विभिन्न विषयमा तालिम दिइएको थियो ।
यसैगरि तालिममा सहभागी प्रशिक्षार्थीहरुले नेतृत्व विकास जस्ता अन्य धेरै तालिममा सहभागी भएको तर यस तालिम अन्य भन्दा फरक पाएकोमा खुशी व्यक्त गरेका थिए । उनीहरुले अब आफ्ना समाजमा हुने र भएका गतिविधिलाई रेडियोमा प्रस्तुत गर्न पाउँदा आँफैमा हौसला प्रदान भएको बताएका थिए ।
तालिममा देवचुली वडा नं १६ मा रहेका १४ नम्बर टोल विकास समिति, नयाँ बजार टोल बिकास समिति, सृजना टोल विकास संस्था, देवचुली टोल विकास संस्था, प्रगति टोल विकास संस्था, रजहर टोल विकास संस्था, धुसेरी टोल विकास संस्था, कुमारवर्ती टोल विकास संस्था, टाँगीकोट टोल विकास संस्था, आँपचौर टोल विकास संस्था, वडाचुली टोल विकास संस्था, ओखलढुङ्गा टोल विकास संस्था र पनियौ खोला टोल विकास संस्था गरि १३ वटा टोल विकास समितिका अध्यक्ष र सचिवगरि २६ जनाको सहभागिता रहेको थियो ।