देवचुली,
पुर्वी नवलपुर जिल्लामा क्षयरोग संक्रमणका बिरामी बढदै गएको तथ्यांकमा भेटिएको छ । “संकेत समयको, क्षयरोग अन्त्य”को भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवसको अवसर पारेर मंगलबार देवचुलीको साहारा पार्टी प्यालेसमा पत्रकार बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय नवलपुरको आयोजना र डेमिन फाउण्डेसन नेपालको सहयोगमा क्षयरोग निवारणका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा नवलपुर जिल्लामा पहिलेको तुलनामा क्षयरोग बिरामीको संक्रमण संख्या बढ्दो रहेको पाइएको छ । जिल्लाको नवलपुरमा एक बर्षको अवधिमा करिब ४ देखि ५ सय सम्म क्षयरोगका बिरामी देखा पर्ने गरेको कार्यक्रमको अध्यक्षता रहनुभएका स्वास्थ्य कार्यालय नवलपुर जिल्लाका प्रमुख केशव चापागाईंले बताउनुभयो । समयमा नै रोग पत्ता लागे समयमा नै उपचार गर्न सकिने तर उपचार समयमा नभए अन्य व्यक्तिहरुलाई पनि यस रोगले आक्रमण गर्न सक्ने चापागाईले बताउनुभयो ।
उहाँले गण्डकी प्रदेशको ११ वटा जिल्ला मध्ये नवलपुर जिल्ला जोखिममा रहेको बताउनुभयो । नवलपुर जिल्लामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा ५९ जना, मध्यविन्दुमा ४३ जना, देवचुलीमा ४२ जना, गैंडाकोटमा ३८ जना, विनयीत्रिवेणीमा २४ जना, हुप्सेकोटमा १९ जना, बुलिङ्गटारमा १० जना र वौदीकालीमा ६ जना रहेको छन् ।
अन्तरक्रिया कार्यक्रममा नवलपुर जिल्लामा आर्थिक बर्ष २०७७/७८ मा क्षयरोगका २ सय ४१ जना बिरामी देखा परेको छ । नवलपुरको मध्यविन्दु नगरपालिकामा १ करोड ५० लाख लगानीमा डि आर होम स्थापना गरि क्षयरोगका बिरामी राखिएको छ। जसमा हाल १८ जना क्षयरोग संक्रमित उपचाररत रहेको डेमिन फाउण्डेसन नेपालका प्रबन्धक सालिकराम रिजालले जानकारी दिनुभयो । उहाँले नवलपुर जिल्लाका १२ र चितवनका ६ जना क्षयरोग संक्रमित रहेको बताउनुभयो ।
कार्यक्रममा ल्याब टेकिनिसियन निरिक्षक स्वास्थ्य कार्यालय नवलपुरका डिल्लीराम तिवारीले क्षयरोग जटिल रहेको बताउँदै लामो समय खोकी लाग्दा, आफूलाई कमजोरी महशुस हुँदा, थकान लाग्दा नजिकैको स्वास्थ्य चौकीमा समयमा नै चेकजाँच गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका नवलपुर पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाटले पत्रकारहरुले सु–सुचित सुचना र समाचार जनता समक्ष सम्प्रेषण गरेर क्षयरोगलाई न्युनिकरण गर्न ठूलो भूमिका निर्वाह गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रममा ल्याब टेकिनिसियन निरिक्षक स्वास्थ्य कार्यालय नवलपुरका डिल्लीराम तिवारी, डेमिन फाउण्डेसन नेपालका प्रबन्धक सालिकराम रिजाल, स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन बिर बहादुर श्रेष्ठ लगायतले क्षयरोगलाई कसरी न्यूनिकरण गर्न सकिन्छ, यो रोग लागेका बिरामीले के कुरा अपनाउने, नवलपुरमा क्षयरोगको अवस्था जस्ता विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नवलपुर जिल्लामा रहेका विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।