जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् ।
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिन्छ । उक्त क्षेत्रफलमा गत वर्ष ३९ हजार मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलका अनुसार जिल्लामा १५ प्रतिशत चैतेधानको रोपाइँ सकिएको छ । विशेषगरी यो समयमा हर्दिनाथ–१, पिआर, चैते–५ लगायतका धान लगाइने गरिन्छ ।
फागुनको अन्तिम साताबाट चैतको तेस्रो सातासम्म चैतेधान रोपाइँ हुने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष धानमा घाँटी मोरुवा रोगको समस्या देखिएपछि अहिले कृषकले धानको बीउ परिवर्तन गरेको कार्यालयका प्रमुख मेघनाथ तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष हर्दिनाथ–१ मा घाँटी मरुवा रोग देखियो, यस वर्ष कृषकले चैते–५ धानको बीउ बढी प्रयोग गरेका छन् ।”
धान रोपाइँमा कृषकले आधुनिक मेसिनको प्रयोग गरेको कार्यालयले जनाएको छ । उहाँका अनुसार अहिले पूर्वी चितवनका दुईवटा सहकारीमा आबद्ध कृषकले मेसिनबाट धान रोपाइँ गरेका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड खैरहनी कुमरोज र साना किसान कृषि सकहकारी संस्था बछौलीले मेसिनबाट धान रोपाइँ गरेका हुन् । मेसिनले १० बिघा क्षेत्रफलमा धान रोपाइँ गरिने उहाँले जानकारी दिनुभयो । चैतमा लगाइएको धान जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म कृषकले थन्क्याइसक्छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका संयोजक तेजप्रसाद बर्तौलाले अहिले नहरमा पर्याप्त पानी नहुँदा धान रोपाइँमा समस्या भएको बताउनुभयो । परियोजनाले बछौलीमा १९, कुमरोजमा २८ र कठारमा तीनवटा मोटर अनुदानमा दिएको उहाँले जानकारी दिनुभयो । पचास प्रतिशत अनुदानमा आएका मोटरको सहायताले धान रोप्ने काम भइरहेको उहाँको भनाइ छ ।
धान रोप्नका लागि खेताला नपाउने समयमा मेसिनको प्रयोग प्रभावकारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बीउ राख्नका लागि केही झन्झट भए पनि रोपाइँका लागि मेसिनले सहयोग गर्नेरहेछ ।”