देवचुली,
पुर्बी नवलपुरको देवचुली नगरपालिका वडा नं ९ नगरपालिकाकै पहिलो नमूना पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि वडालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहनुभएका देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले वडालाई मात्र नभई नगरपालिकालाई नै पूर्ण सरसफाई उन्मुख नगरपालिका बनाउन सबै लागिरहेको बताउनुभएको छ । देवचुली वडा नं ९ ले ४५ वटा सुचक पूरा गरि पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै अब वडा मात्र नभई नगरपालिकालाई नै पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गर्न यहाँहरू सम्पूर्णको साथ र सहयोग आवश्यकता रहेको श्रेष्ठले बताउनुभयो ।
उहाँले सरसफाई घोषणा गर्दाको दिन जस्तै प्रत्येक दिन वडालाई पूर्ण रूपमा सरसफाइ गर्न यहाँका वडावासीमा थप जोस र जागर मिलोस भन्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रहनुभएका देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले घोषणा मात्र गरेर नहुने बताउँदै वडावासीले सरसफाइलाई निरन्तरता दिदै बिशेषगरि बालबालिकालाई सरसफाइ सम्बन्धि धेरै ज्ञान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा दिगो खानेपानी तथा सरसफाई उपभोक्ता संस्था (नापाबास)का प्रमुख प्रविन घिमिरेले वडावासी र विभिन्न व्यक्तित्वहरुको साथ र सहयोग बिना वडालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्न सम्भव नहुने बताउँदै सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तिहरुले पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्न सफल भएकोमा वडालाई बधाई दिएका थिए ।
कार्यक्रमलाई समापन गर्दै वडा नं ९ का वडाध्यक्ष एवम् अध्यक्षता रहनुभएका मेख बहादुर सारुले पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भइसकेकाले निरन्तर वडावासीले सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । उहाँले विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र दिगो खानेपानी तथा क्षमता अभिवद्धि (नापाबास) को पूर्ण सरसफाई वडा घोषणा गर्न ठुलो सहयोग रहेको बताउँदै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारुको अध्यक्षता रहेको थियो भने देवचुली नगरपालिकाका पनगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । देवचुली नगरपालिकाको १७ वटै वडा मध्य पहिलो वडा नं ९ पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्न सफल भएको छ । कार्यक्रममा शुभकामना मन्तव्य वडा सदस्य रिल कुमारी तामाङले गर्नुभएको थियो भने सहजीकरण वडा सदस्य टेक बहादुर गाहाले गर्नुभएको थियो ।
कार्यक्रममा वडालाई पूर्ण सरसफाई वडा घोषणा गर्न सहयोग पुर्याउने संघसंस्थालाई कदरपत्रले सम्मान समेत गरिएको थियो ।