घर त्यही हो, जहाँ जीवनको सुरुवात हुन्छ । आफ्नाहरुले चिन्छन् । हरेक भित्ता, हरेक झ्याल, ढोका सानैदेखि चिनेको महसुस हुन्छ । यस्तो लाग्छ, सायद यही घर नै आफू जन्मन योग्य थियो ।
बुबाले कहिले पनि बेच्न नचाहेको त्यो घर, हामी सधैँ बेच्नमा नै जोड दिन्थ्यो । पुरानै भए पनि एक दुई परिवार बहालमा बस्थ्यो । जे होस् बुबा खुसी हुनुहुन्थ्यो घर बेच्नु नपरेकामा । त्यसबाट आउने पैसाले हामीलाई केही गर्न पुग्ने त हैन तैपनि त्यो एउटा घर हेरविचार गर्ने मानिस त्यहाँ भएकामा बुबा खास खुसी हुनुहुन्थ्यो ।मलाई सम्झना छ, हामीले जब नयाँ घर बनाउन सुरु गरेको थियौँ, बुबाबाहेक सबै धेरै खुसी थिए । सानो म, मेरी दिदी अनि आमा, विशेष म र दिदी नयाँ घरमा आफ्नो आफ्नो छुट्टै कोठा सिँगार्ने सपना बुन्थ्याँै । आमा आफ्ना नातागोतासामु आफ्नो रवाफ जमाउने सपनामा मस्त थियो ।
तर बुबा आफ्नो पुख्र्यौली घर कसरी छोड्ने भनेपछि सधैँ अलि बढी चिन्तित र दुःखी जस्तो देखिनुहुन्थ्यो । आफू जन्मे, हुर्के, खेलेको घर, विवाह गरेर आमालाई भित्र्याउनुभएको । त्यो घरसँग बुबाको सबै सन्तानलाई जन्म दिएको एउटा ठूलो सम्झना र घनिष्टता थियो । त्यस घरमा जिन्दगीका ५० औँ वर्ष काटिसकेको बुबालाई सायद अहिले उमेरको उत्तरार्द्धमा छाडेर जाने मन सायद थिएन । तैपनि सन्तानको खुसी, श्रीमतीको ढिपी र नयाँ घर सबैको चाहना, त्यो विवशताले बुबा चुप नै रहनु हुन्थ्यो ।
हुन त हामी पनि त्यही घरमा जन्मेको थियौँ । तर बुबाको जस्तो लामो समय त्यहाँ बिताएका थिएनौँ ।
नयाँ घर हाम्रो चाहना थियो, सपना थियो र शान थियो । त्यसैले हामी निकै दङ्ग थियौँ । आमा पनि खुशी हुनुहुन्थ्यो ।
तर बुबा नयाँ घरमा आइसक्दा पनि बढी समय पुरानो घरको देखभालमा नै बिताउनुहुन्थ्यो । ठूलो झरी होस् वा आँधीबेहरी, बुबालाई पुरानो घरको चिन्ताले नै बढी सताउँथ्यो ।
‘कतै छानो उडायो कि, कतै पर्खाल भत्कियो कि ?’
यस्तै यस्तै चिन्तामा बुबाको रात काट्थ्यो ।
सुरुमा सर्ने बेलामा पुरानो घरमा बस्ने कोही भएन । बहालमा बस्ने मान्छे भेटिसकेको थिएन । दिनभरि बुबा अफिस, हामी नयाँ घरमा बसे पनि बेलुका पुरानो घर कुर्न र हेरचाह गर्न बुबा जानुहुन्थ्यो ।
हामीले जानु पर्दैन भन्दा बुबा मान्नु हुन्नथ्यो । घर खालि राख्नुहुन्न भन्नुहुन्थ्यो । पछि घर बहालमा लिने मान्छे आइसकेपछि जान छोड्नुभयो ।
जसरी एउटा परदेशमा कर्म थलो बनाई घरजम गर्नेलाई सधैँ आफ्नै देशको माटो र सम्झनाले सताइरहन्छ । त्यस्तै जीवनको अन्तिम समय मात्र भए पनि आफ्नै देशमा बिताउने सोच हुन्छ । परदेशमा नै जन्मेका आफ्ना सन्तानमा त्यो चाह र त्यो तृष्णा हुँदैन । किनभने उनीहरुका लागि आफ्नो जन्मस्थान र बाल्यकाल बिताएको ठाउँ नै प्यारो हुन्छ । उनीहरुलाई त्यहीँको बढी माया हुन्छ । आफ्नो बुबा जन्मेको ठाउँ र देशको हँुदैन ।
हाम्रो घरपरिवारमा पनि त्यही भइरहेको थियो । हामी नयाँ घरको कोठा, आँगन, सजाउनमा, सिँगार्नमा व्यस्त थियौँ । हाम्रो खुसीको सिमाना थिएन । तर बुबामा त्यस्तो खुसी खासै झल्किएको देखिन्नथ्यो ।
यस्तै तरिकाले दिन बित्दै गए । बुबा पुरानो घर गइराख्नु हुन्थ्यो । त्यहीँको वातावरणमा हराइराख्नुहुन्थ्यो । सधैँ पुराना दिन सम्झेर खुसी हुन्थ्यो । त्यहाँ बहालमा बस्नेहरुसित पुराना कुरा गरिराख्नु हुन्थ्यो । जति जति बुढेसकाल नजिक आउँछ त्यति त्यति बाल्यकालको सम्झना निकै चहकिलो भएर आँखा अगाडि आउँछ भन्दै बुबा पुरानो सम्झनामा हराउनुहुन्थ्यो । आहा ! यो टोल, यो ठाउँ कति स्वच्छ थियो त्यतिबेला । हामी दगुर्ने, खेल्ने, सुकुलमा बसेर भोगटे साँधेर खाने, नुहाएर टाउको मा तेल लगाएर घाममा बस्ने, सबै छिमेकी आफ्नै जस्तो, सबैमा माया स्नेह उत्तिकै, कहिले कसको घर गएको छ कहिले कसको । मकै भटमास र गुन्द्रुकको त्यो स्वाद, कति ठूलाठूला रूखहरु, कति शीतल हावा चल्थ्यो । गाडी निकै कम गुड्थे सो बाटोमा खेल्न केही कठिनाइ थिएन । बुबा सधैँ भनिराख्नु हुन्थ्यो । जीवनको यो घडीमा अतीत मात्र हाम्रो जिउने आधार हुन्छ, अरू केही हुन्न भन्नु हुन्थ्यो ।
जबकि आमा र हामी यतै खुसी र व्यस्त थियौँ । कतिचोटि घर किन्ने मान्छे आए । बुबाले मान्नु भएन । कहिले आमा र हामी निक्कै जोड दिन्थ्याँै । मेरो शेषपछि जेसुकै गर तिमीहरु तर म बाँचुन्जेल पुर्खाको नासो बेच्दिनँ ।
बुबाको यो जवाफले हामी चुप हुन्थ्यौँ । समय बित्दै गयो । बुबा बित्नु भयो । आमा बूढी हुनुभयो । हामी पनि सबै विवाहित भयौँ, सन्तान भए । सबैको सल्लाहअनुसार त्यो घर बेच्ने कुरा भयो– निकै पुरानो र ढलमलिएको अवस्थामा रहेको घर, बुबाको प्राणप्रिय घर, बुबाको पुर्खाको घर !
तर बुबा हुँदाजस्तो गाह्रो भएन बेच्ने बेलामा, हामीलाई बेच्यौँ । राम्रो दाम आयो । सबै खुसी थियाँै ।
समय बित्दै गयो । उमेर ढल्किँदै गयो । छोराछोरी हुर्किंदै गयो । थाहै नपाई समयले फड्को मार्यो । अहिले उनीहरुलाई यो घर पुरानो भयो रे ! बेचेर नयाँ घर जाने भनेर ढिपी गर्दैछन् दिनहुँ जस्तो । श्रीमती पनि यही जिद्दी गछिन् । एउटा नयाँ घर त लिनैपर्छ सब नातागोता हाउजिङतिर छन् । सुविधा सम्पन्न, हामी भने सधैँ यही पुरानो घरमा !
आजभोलि मन कताकता दुःखी छ । त्यही पुरानो कुरा फेरि एक पटक दोहोरिरहेको भान भइरहेको छ । हिजो जुन ठाउँमा बुबा हुनुहुन्थ्यो, आज त्यही ठाउँमा म छु । पुरानो घरको महत्त्व आज मैले बल्ल बुझेँ । किन मन मानिरहेको छैन । कसरी सम्झाउने यिनीहरुलाई आफ्नो जीवन व्यतित गरेको ठाउँ छोड्न कति गाह्रो हुन्छ ? आफ्नो सम्झनालाई छोडेर जान कति असहज हुन्छ ?
बुबाका प्रत्येक कुरा आज महसुस गरिरहेको छु ।
जीवनमा कति कुरा सोच्दै नसोची पाइराखेको हुन्छ । त्यसको हामीलाई खासै अर्थ हुन्न । जब त्यो गुमाउने अवस्था हुन्छ तब त्यो कुराको महत्त्व थाहा हुन्छ भन्ने बुझ्छौ ।
मैले अहिले के पनि बुझेको छु भने जीवनमा अगाडि नबढी पुरानो कुराको महत्त्व हुन्न । सम्झना बनाउन ती कुरा अतीत बनाउन जरुरी छ ।
सायद जीवनको नाम त्यही हो, जहाँ आफ्नाहरुको खुसीका लागि आफ्ना कयौँ खुसीको तिलाञ्जली दिनुपर्ने । एकएक गरी जोड्दै गएका कुरा, एक एक गरी फेरि बिस्तारै छोड्दै पनि जानुपरेन । नयाँ कुरालाई आत्मसात गर्नुपर्ने हुनाले नै हामीले पुराना कुरा छोड्नुपर्ने भएको होला । यो नै जीवनको रीत रहेछ । सधैँ चलायमान रहने ... । त्यही बुबाले गर्नुभएको रहेछ ।
र म पनि त्यही गर्ने छु ।
तर नयाँ घर पुगेर पनि मेरो माया, मेरो सम्झना, खुसी, मेरो नाता तिम्रो साथमा नै रहनेछ सधैँ सधैँ ।
रातोपाटी