देवचुली,
समाजमा किशोरी माथि हुने विभिन्न किसिमका लैङ्गिक विभेद र अन्यायको चट्टानलाई फोर्न आफू हरतवरबाट लागि पर्ने एक कार्यक्रमका प्रमुख अतिथी रहनुभएका माननीय संघीय सांसद तिलक महतले बताउनुभएको छ । शनिबार जागृती बाल तथा युवा सरोकार नेपालको किशोरी सशक्तिकरण कार्यक्रमको दिक्षान्त समारोहमा सो कुरा बताउनुभएको हो । सांसद महतले देशभित्रका हजारौँ किशोरीहरु माथि हुने लैङ्गिक विभेद विरुद्धको माथि बहस र छलफल गर्ने बताउनुभएको छ । उहाँले छोरी भएर जन्मे भनेर हेला गर्ने समाजलाई भविष्यमा तिनै छोरीहरुले नै राष्ट्र चलाउन सक्ने बताउनुभएको छ ।
विगत तीन बर्षदेखि जागृती बाल तथा युवा सरोकार नेपाल र कन्नालनले देवचुली नगरपालिकामा रहेर किशोरी तथा बालबालिकाको हकहितका लागि काम गर्दै आइरहेको छ । देवचुली १६ रजहरको पिप्रहर सामुदायिक होमस्टेमा ३ दिन सम्मको दिक्षान्त समारोह सम्पन्न गरिएको छ । किशोरीहरुले तीन बर्षको अवधिमा गरेका क्रियाकलापका विषयमा जनप्रतिनिधि, अभिभाभवक लगायतसँग छलफल गरिएको थियो ।
दिक्षान्त समारोहमा बोल्दै किशोरी अभियान्ता आशा वि.कका अभिभावक गीता वि.कले जागृती बाल तथा युवा सरोकार नेपालले संचालन गरेको किशोरी सशिक्तकरण कार्यक्रमले आफ्नो छोरीमा धेरै परिवर्तन आएकोमा खुशी व्यक्त गर्नुभयो । पहिले घरभित्र एकलै बस्ने छोरी अहिले गाउँका किशोरकिशोरी र अन्य ठुला व्यक्तिहरुलाई परिचालन गरेको देख्दा दंग पर्ने बताउनुभयो ।
यसैगरि अर्का अभिभावक प्रेणा अर्जेलका बुबा केशव प्रसाद अर्जेलले छोरीले अगाडी गएर बोलेको देख्दा अचम्म लाग्ने बताउनुहुन्छ । उहाँले वास्तवमा परिर्वतन त स्वंयम आफू र घरबाट नै हुने बताउनुहुन्छ ।
कार्यक्रममा किशोरी अभियान्ताहरुले जागृती बाल तथा युवा सरोकार नेपालले संचालन गरेको किशोरी सशिक्तकरण कार्यक्रमले आफूहरुलाई सशक्त बनाएको बताएका छन् । जस्तो सुकै परिस्थितीलाई पनि सजिलै सँग लडेर अगाडि बढ्ने हौसला आँफूहरुमा रहेको बताएका थिए । किशोरीहरुमा हुने विभिन्न किसिमका हिंसा र दुव्यवर्हारलाई अन्त्य गर्न किशोरीहरु एक भएर अगाडि बढ्ने समेत जोड दिएका थिए । तीन बर्षको अवधिमा किशोरीहरुले जीवन उपयोगी कुराहरु सँगै धेरै राम्रा कुराहरु पनि सिक्न र सिकाउन पाएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा ४५ जना किशोरीहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । उक्त समारोहमा जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिल्लोत्तम पौडेलको अध्यक्षता रहेको थियो भने माननीय संघीय सांसद तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कन्नालन स्विजरल्यान्डका दिपक बस्याल, जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, सहजकर्ता श्रद्धा बर्मा, सविता पंगेनी, देवचुली नगरपालिकाका कार्यपालिका सदस्य, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
दिक्षान्त समारोहलाई समापन गर्दै अध्यक्षता रहनुभएका जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिल्लोत्तम पौडेलले देवचुली नगरपालिकाका किशोरीहरुमा साँचिकै धेरै परिवर्तन आएको बताउँदै आफ्ना समस्यालाई पनि खुलेर बोल्न थालेको बताउनुभएको थियो । समाज परिवर्तनका लागि किशोरीहरुहरुले सिकेका कुरालाई निरन्तरता दिन समेत आग्रह गर्नुभएको थियो ।