देवचुली,
भीसान नवलपरासीको आयोजनामा शुक्रबार निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र अभिभावकहरुको निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । भीसान नवलपरासी, लायन्स क्लब अफ नारायणघाट नारायणी, लायन्स क्लब अफ नारायणघाट बालकुमारी लगायतका संस्थाहरुको साझेदारीमा शिविर गरिएको हो । जसमा विद्यालयका विद्यार्थी र अभिभावक गरि २ सय ३७ जनाले सेवा लिएका छन् ।
शिविर कार्यक्रममा भीसान नवलपरासीका अध्यक्ष सेर बहादुर पौडेलले बिशेषगरि विद्यालयका बालबालिकाहरुले “जंगफूड” को प्रयोग बढि गर्ने हुँदा बालबालिकाको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिने भएकाले विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताउनुभएको छ । विगत लामो समय देखि भीसान नवलपरासीले देवचुलीमा रहेर विभिन्न सामाजिक कार्यहरु गरिरहेको र हाल भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा २ जना र दिव्यज्योती आधारभूत विद्यालयमा २ जना बालबालिकालाई निःशुल्क रुपमा पढाई रहेको पौडेलले जानकारी गराउँदै आगामी दिनमा पनि भीसान नवलपरासीले विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।
उक्त शिविरमा बरिष्ठ फिजिसियन डा. सन्दिप पाण्डे, बरिष्ठ जनरल सर्जन अमित शर्मा, बरिष्ट नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दामोदर कंडेल, बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जीवन परियार, बरिष्ठ बाल रोग विशेषज्ञ डा. किरण देवकोटा र मेडिकल अफिसर डा.टेकेन्द्र गौतमबाट बिरामीको परिक्षण गरिएको थियो ।
शिविरमा चेकजाँचका लागि आउने विद्यार्थीहरुमा खानपान, कान, मुटु रोगी जस्ता धेरै समस्या देखिएको बरिष्ठ बाल रोग विशेषज्ञ डा. किरण देवकोटाले जानकारी दिनुभयो । उहाँले बालबालिका भन्दा पनि अभिभावकहरुले आफ्ना बच्चाहरुको खानपानमा हेरचाह गर्नुपर्ने बताउँदै खानपानमा सचेत हुनुपर्ने बताउनुभएको थियो ।
शिविरमा चितवन भरतपुर १० मा रहेको श्री पुष्पाञ्जली हस्पिटलको समेत प्राविधिक सहयोग रहेको छ ।