देवचुली
महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ देशभर १११ औं अन्तर्राष्ट्रिय नारी दिवस भब्यताका साथ सम्पन्न गरिएको छ । देवचुली नगरपालिका वडा नं ११ मा रहेको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा शुभकामना आदानप्रदान तथा कविता वाचन तथा म्युजिकल चियर कार्यक्रम सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष सरिता शर्मा मरासिनिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले नारी दिवसका दिन मात्रै कार्यक्रम गरेको नारीको हक अधिकार सुनिश्चित नहुने भन्दै नारीको अधिकारका लागि नारीपुरुष दुबै जिम्मेवार बन्नु पर्ने बताउनु भयो। उहाँले नारी हरेक क्षेत्रमा सक्षम भएकाले आँफूले आँफैलाई केही गर्न सक्दिन भन्ने भावना उत्पन्न हुन नहुने बताउनु भयो।
कार्यक्रममा नगर प्रवक्ता क्याप्टेन डिल बहादुर खत्री, कानुनविद् अधिवक्ता बाबुराम खड्का, सल्लाहकार बिमला लम्साल, कोषाध्यक्ष शेषकान्ती सापकोटा, साहित्यकार कृष्णादेवि शर्मा श्रेष्ठ, प्रगतिनगर कृषि सहकारी संस्थाकी अध्यक्ष रुमकला काफ्ले,लक्ष्मी आमा समूहकि अध्यक्ष मिना तिवारी, जनजागरण आमा समूहकी अध्यक्ष धर्मकुमारी न्यौपाने,गणेश टोल आमा समूहकी अध्यक्ष कमलादेवी भट्टराई, शेयर सदस्यका तर्फबाट गोमा दवाडी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो। कार्यक्रममा साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ,मुस्कान सुनार र पार्वती भण्डारीले नारीवादी कविता वाचन गर्नुभएको थियो।
सोही कार्यक्रममा महिलाहरुलाई म्युजिकल चियर खेल पनि खेलाईएको थियो। खेलमा कुमारवर्ती आमा समूहकी सदस्य दुर्गा खनाल प्रथम तथा मिलिजुली आमा समूहकि कोषाध्यक्ष धनुमाया रेग्मी दोश्रो हुनुभएको थियो। संस्थाकी उपाध्यक्ष हरिकला पूरिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजीकरण संस्थाकी सह-सचिव फूलमाया बिकले गर्नुभएको थियो।