देवचुली.
महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेड रजहरको आयोजना र देवचुली नगरपालिकाको आर्थिक सहयोगमा १११ औँ अन्तराष्ट्रिय दिवस भव्यताका साथ मनाइएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार भन्ने नाराका साथ सोमबार देवचुली १६ रजहरमा नारी दिवस मनाइएको हो । कार्यक्रममा महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेड रजहरका अध्यक्ष धनमाया खडकाको अध्यक्षता रहेको थियो भने देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले नारी दिवस मनाएर मात्र नहुने बताउँदै नारीहरुले आफ्नो अधिकारका लागि स्वंयम आँफै लड्न सक्नुपर्ने क्षमतावन हुनुपर्ने बताउँदै नगरपालिका भित्र त्यस्ता कुनै घटना हुन नदिन सबै हातोमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।
नारी दिवसको अवसर पारेर कार्यक्रममा महिला दिदीबहिनीहरुले नारीहरुको बारेमा गित, गजल, कविता प्रस्तुत गरेका थिए ।
यसैगरि कार्यक्रममा घैंटो फुटाई कार्यक्रम, म्युजिकल चियर र डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको थियो । जसमा सहभागिता मध्ये घैंटो फुटाई प्रतियोगितामा प्रथम हुने तारा भण्डारी, म्युजिकल चियरको पहिलो खेलमा सुनिता पंगेनी प्रथम, द्धितीय पार्वती पौडेल, तृतीय टिका भुसाल र म्युजिकल चियरको दोस्रो खेलमा प्रथम गोमा क्षेत्री, द्धितीय प्रतिमा पंगेनी, तृतीय प्रेमकुमारी महतो, डोरी तान्ने प्रतियोगितामा कालिका आमा समूह प्रथम र बाटिका आमा समूह द्धितीय र समाज कल्याण आमा समूह तृतीय भएको छ । कार्यक्रममा बिजेताहरुलाई खुक्रुके र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्री, देवचुली नगरपालिकाकि सामाजिक शाखा प्रमुख बिमला लम्साल, अधिकृत सीतादेवि पौडेल, वडा सदस्य, संस्थाका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।