देवचुली,
सी.जी.आई.पीमा महिला श्रमको संख्या बृद्धि भएकोमा कार्यक्रममा प्रमुख अतिथी रहनुभएका चौधरी ग्रुप संचालक एवम् महिला अधिकारकर्मी सारिका चौधरीले महिलाहरु पनि अब पुरुषको बराबरी रहेकोमा खुशी व्यक्त गर्नुभएको छ । सोमबार १११ औँ महिला अन्तराष्ट्रिय दिवसको अवसरमा सी.जी.आई.पी महिला परिवारले आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले पुरुषले मात्र घरबाहिर रहेर काम गनुपर्छ भन्ने मान्यतालाई हटाउँदै महिलाहरु सक्रिय भएको देख्दा खुशी लागेको बताउनुभएको हो । प्रमुख अतिथी रहनुभएकी चौधरीले सी.जी.आई.पीको आँगनबाट धेरै पटक यहाँ काम गर्ने महिला श्रमहरुको लागि बोलिरहेको र आगामी दिनमा पनि महिलाहरुको हक अधिकारका लागी आवाज उठाउने बताउनुभएको थियो ।
उहाँले १११ औँ अन्तराष्ट्रिय नारी दिवसको सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै महिलाहरु एकजुट भएर आफ्ना हकका लागि आवाज उठाउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सी.जी.आई.पीमा लामो समय काम गरेर अवकाश प्राप्त गर्नुभएका ४ जना महिलाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा श्रमीक महिला आयोजक समितिका अध्यक्ष राधा लम्सालको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्यता चौधरी ग्रुप संचालक एवम् महिला अधिकारकर्मी सारिका चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा चौधरी उद्योग ग्रामबाट सुरु भएको र्याली सी.जी शास्वतधाममा पुगि सभामा परिणत भएको थियो । कार्यक्रममा चौधरी ग्रुप तथा वरिष्ठ समाजसेवी एवम् बुद्धिजीवी महिला अधिकारकर्मीका अभियान्ता शुरवि चौधरी, नेपाल कारखाना श्रमीक संघ राष्ट्रिय उपाध्यक्ष सविता रेग्मी, वरिष्ठ महाप्रबन्धक सी.जी आईपी रामभक्त के.सी, नायव प्रबन्धक सी.जी आईपी रामचन्द्र धिताल लगायतको उपस्थिती रहेको थियो ।
र्यालीमा महिलाहरुले प्लेकार्ड बोकी महिला हिंसा अन्त्य गर, बलात्कारीलाई फाँसी दे, नारी एकता जिन्दाबाद, हत्या हिंसा अन्त्य गर जस्ता विभिन्न नारा लगाएका थिए । कार्यक्रममा सी.जी.आई.पी का करिब ६ सय भन्दा बढि महिलाहरुको सहभागितामा शुभकामना आदान प्रदान सम्पन्न गरिएको थियो । कार्यक्रमको सहजीकरण निर्मला सापकोटाले गर्नुभएको थियो ।