देवचुली,
अबको दिनमा शैक्षिक जगतलाई नयाँ तरिका र नयाँ ढंगले लैजानुपर्ने एक कार्यक्रममा प्रमुख अतिथी रहनुभएका विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. भिमप्रसाद सुवेदीले बताउनुभएको छ । आइतबार देवचुली १५ प्रगतिनगरमा रहेको जनज्योती आदर्श बहुमुखी क्याम्पसको १४ औँ वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा सुवेदीले यस्तो बताउनुभएको हो ।
प्रमुख अतिथी डा. सुवेदीले राज्यको उच्च शिक्षाको लगानी एकदमै कम रहेकाले उच्च शिक्षाको लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले उच्च शिक्षामा सोचे जति विद्यार्थीलाई समेटन नसकिएकोमा दुःख समेत व्यक्त गर्दै अब शैक्षिक जगतलाई फरक तरिकाले सोच्नुपर्ने अवस्था आएको बताउनुभयो ।
प्रमुख अतिथी डा. सुवेदीले सामुदायिक क्याम्पसले खेलेको भूमिका प्रति प्रशंसा गर्दै प्रत्येक कलेजलाई प्राविधिक शिक्षातर्फ अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको थियो । उहाँले संख्यात्मक रुपमा कलेजहरु स्थापना भयतापनि प्रतिशपर्धा न्यून रहेकाले विद्यालयले उचित रुपमा शिक्षा प्राप्त गर्न नसकेको गुनासो गर्नुभएको थियो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. भिमप्रसाद सुवेदीले नवनिर्मित १९ कोठे भवनको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जनज्योती आदर्श बहुमुखी क्यामपस व्यवस्थापन समितिका अध्यक्ष धर्मदत्त भुसालको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्यता अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. भिमप्रसाद सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ रहनुभएको थियो ।
१४ औँ वार्षिकोत्सवको अवसरमा कलेजमा भएका विभिन्न कार्यक्रमहरुको विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । क्याम्पसलाई सहयोग गर्ने संघसंस्था तथा शैक्षिक व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्ति, राजनैतिक दलका व्यक्ति, विभिन्न आमा समूहका प्रतिनिधि, विभिन्न क्याम्पसका प्रमुख, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।