देवचुली,
देवचुली नगरपालिका वडा नं १३ को नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन गरिएको छ । शनिबार दलदलेको बौलाहा खोला नजिकै रहेको नवनिर्मित भवनको देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले समुद्घाटन गर्नुभएको हो । वडा भवन समुद्घाटनमा ब्यानर पढे पछि रिबन काटेर सेवा शुभारम्भ गरिएको थियो ।
वडा भवन समुद्घाटन कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले नवलपुरका अन्य पालिकाको तुलनामा देवचुली नगरपालिकामा आन्तरिक स्रोत कम भएकाले यहाँका जनताले खोजेको र चाहेको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभएको थियो । साथै उहाँले देवचुली १३ का वडाबासीलाई वडामा नहुने काम नगरपालिकामा आएर सेवा लिन समेत अनुरोध गर्दै नगरपालिकाको क्षमता अनुसार दुःखमा परेका वडाबासीलाई सहयोग गर्न नगरपालिका पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी रहनुभएका देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले नगरपालिका भित्र भौतिक विकास, सामाजिक विकास जस्ता थुप्रै काम भइसके पनि आर्थिक विकास भने हुननसकेको बताउभएको थियो । उहाँले देवचुली नगरपालिका असाध्यै राम्रो रहेकाले नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउन आफूहरु एकजुट भएर लागिरहेको बताउनुभएको छ ।
कार्यक्रममा अध्यक्षता रहनुभएका देवचुली वडा नं १३ का वडाध्यक्ष क्यापटेन डिल बहादुर खत्रीले प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै भोलिका दिनहरुमा पनि विकास निर्माणका कामका लागि सधै अगाडि रहिरहने बताउँदै वडाका प्रत्येक घरपरिवारलाई कृषितर्फ लाग्न जोड गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा वडा कार्यालय निर्माण गर्नको लागि जग्गा दान गर्ने दाता, जग्गा खोजविन समितिहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा दलदलेबाट सुरु भएको प्रभातफेरि नवनिर्मित वडा कार्यालयमा पुगि सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न विद्यालय तथा समूहहरुले सांस्कृतिक नृत्यसँगै भजन पनि गाइएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं १३ का वडा सदस्यहरु, वडा नं १३ मा रहेका विभिन्न आमा समूहका प्रतिनिधिहरु, टोल सुधार समितिका प्रतिनिधिहरु, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो । वडा कार्यालय निर्माणका लागि ३२ लाख ३९ हजार ५ सय ५३ को लागतमा सम्पन्न भएको हो ।
वडा भवन बनाउने जिम्मा दिवा इन्जिनियरिङ कन्स्ट्रकसन प्रा.लि.ले जिम्मा लिएको थियो । कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य सुवोचन्द्र सुवेदीले गर्नुभएको थियो ।