देवचुली,
देवचुली वडा नं १५ मा रहेको जनज्योती आदर्श बुहुमुखी क्याम्पसको १४ औँ बार्षिकोत्सवको अवसरमा नगर सरसफाई गरिएको छ । बिहिबार प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, देवचुली १० गणेश टोल नमूना आमा समूह र भागृती आमा समूहको सहकार्यमा नगरभित्रका विभिन्न ठाउँमा सरसफाई गरिएको छ ।
हरेक कुरामा सरसफाई महत्वपूर्ण भएकाले यसलाई अभियानकै रुपमा सुरुवात गरेको क्यामपस प्रमुख एवम् कार्यक्रमको संयोजक रहनुभएका पशुपति भट्राईले जानकारी दिनुभयो । उहाँले प्रगतिनगर र दलदले मुख्य बजारको क्षेत्र रहेकाले पनि यहाँका नागरिकलाई सरसफाई प्रति सचेत गराउन कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसालले सरसफाई जस्तो संवेदनशील विषयलाई घर देखि सुरु गरि समाजलाई नै स्वच्छ बनाउन सके मात्र अभियानले पूर्णता पाउने बताउनुभएको थियो ।
सरसफाई कार्यक्रममा बोल्दै भागृती आमा समूहका अध्यक्ष कृष्णदेवि शर्माले आ–आफ्ना घरको फोहोर आँफै सफा गर्ने बानी बसाल्ने हो भने स्वच्छ सहरको निर्माण गर्न सकिने बताउनुभएको थियो ।
यसैगरि कार्यक्रममा गणेश टोल नमूना आमा समूहका अध्यक्ष गोमा घिमिरे दवाडीले विशेष गरि विद्यालय र कलेजका विद्यार्थीहरुले पनि सरसफाई प्रति ध्यान दिनुपर्ने बताउनुभएको थियो । बाटोमा हिँड्दा कागजहरु जहाँ पाए त्यही फाल्ने बानी रहेकाले विद्यार्थीहरु पनि सरसफाई प्रति सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
सरसफाई जनज्योती क्याम्पस देखि प्रगतिनगर चोक सम्म गरिएको थियो । कार्यक्रममा प्रगतिनगर बजार व्यवस्थापन समितिका पधादिकारी, प्रगतिनगर खानेपानी सरसफाई उपभोक्ता समितिका पधादिकारी, विभिन्न आमा समूहका महिला दिदीबहिनी, कलेजका विद्यार्थी, कलेजका शिक्षकशिक्षिका लगायतको उपस्थितीमा सरसफाई गरिएको छ ।