देवचुली,
पछिल्लो समय खेल प्रति युवाहरुको आकर्षण बढ्न थालेपछि वडाबाट बजेट विनियोजित गरि युवाहरुको लागि खेल प्रतियोगिता नै गर्न थालिएको छ । देवचुली नगरपालिका वडा नं ५ कदमपुरमा रहेको समाज सुरक्षा क्लबको आयोजना र वडा नं ५ को आर्थिक सहयोगमा युवाहरुका लागि वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
फाल्गुन ७ गते देखि सुरु भएको वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा देवचुली नगरपालिकाका १७ वटै वडाका खेलाडीहरुको सहभागिता रहेको छ । यस क्षेत्रमा युवाहरुको खेलकुद प्रति धेरै चासो रहेकाले खेलकुदको स्तर उन्नती गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको समाज सुरक्षा क्लबका अध्यक्ष नवल ढेंगाले बताउनुभयो ।
समाज सुरक्षा क्लब: अध्यक्ष नवल ढेंगा
नेपालमा पछिल्लो समय युवा देखि युवतीहरुमा खेलको क्रेज बढ्दै गएकाले उनीहरुको प्रतिभालाई प्रस्फुटन गर्न वडाले विभिन्न खेलकुद सामाग्री देखि वडा कपका लागि रकम विनियोजित गरिएको देवचुली वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकोटाले बताउनुभयो । स्थानीय तहले बाटोघाटो जस्ता विभिन्न निर्माणका लागि मात्र रकम छुटाउनाले, स्थानीय स्तरमा भएका प्रतिभालाई देख्न नसक्ने हुँदा पनि धेरै खेलाडीहरु पछि परेको सापकोटाले बताउँदै आगामी दिनमा किशोरकिशोरीहरुका लागि छुट्टै बजेट विनियोजन गर्ने बताउनुभयो ।
देवचुली वडा नं ५ : वडाध्यक्ष शिवलाल सापकोटा
वडा अध्यक्ष फुटबल कप प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिनका लागि देवचुली १६ का खेलाडी सरोज सुनारले बताएका छन् । यसरी समूहबाट प्रतिनिधत्व गरि खेलमा सहभागी हुन पाउँदा खुशी लागेको सुनार बताउँछन् ।
खेलाडी : सरोज सुनार
खेलाडीहरु राष्ट्रियस्तर सम्म पुग्नको लागि विशेष गरि स्थानीय स्तरमा हुने प्रतियोगिताको ठुलो भूमिका रहने बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि गर्न सके धेरै खेलाडीको भविष्य उज्जवल हुने अर्का खेलाडी देवचुली ५ का प्रदिप तिवारीले बताउँछन् ।
खेलाडी:प्रदिप तिवारी
खेलाडी उत्पादनका लागि भौतिक संरचनाको निर्माणसँगै आवश्यक अभ्यास र सुविधाको व्यवस्था गर्ने हो भने भविष्यमा यहिबाट धेरै खेलाडीहरुको जन्म हुने थियो ।
खेल देवचुली ५ कदमपुरको सिरानमा रहेको दुर्गा मन्दिरको खेल मैदानमा संचालन भइरहेको छ । फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु २५ हजार र दोस्रो हुने टिमलाई नगर रु १५ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।