देवचुली,
देवचुली नगरपालिका वडा नं १ का महिलाहरुलाई कृषि व्यस्थापन तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको छ । बिहिबार शिसवार बोटे माझि सामुदायिक होमस्टेको नयाँ सांस्कृतिक भवनमा महिलाहरुलाई तरकारीको बिउ कसरी लगाउने विषयमा तालिम प्रदान गरिएको हो । दिव्यपुरी युवा उद्यमी सहकारी संस्था लिमिटेडको आयोजना र देवचुली वडा नं १ को आर्थिक सहयोगमा क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको हो ।
तालिममा कृषिलाई व्यवसायिक रुपमा कसरी अगाडी बढाउने, महिलाहरुलाई कृषिमा आत्मनिर्भर कसरी बनाउने, घरमा नै तरकारी कसरी उत्पादन गर्ने , विषादी नभएको तरकारी कसरी उत्पादन गर्ने जस्ता विभिन्न विषयमा देवचुली नगरपालिका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीले प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा दिव्य युवा उद्यमी सहकारी संस्थाका अध्यक्ष केशव भण्डारीले सहकारी स्थापना भइसकेपछि कृषि र गैरकृषि कार्यक्रमलाई लक्षित गरेर युवाहरुलाई उद्यमी बनाउन तर्फ संस्था लागिरहको बताउँदै कृषिमा महिलाहरुले निरन्तर काम गर्न सक्ने बताउनुभएको थियो । यो तालिम लिएपछि महिलाहरुले पनि घरमा नै बसेर धेरै आम्दानी गर्न सक्ने बताउनुभएको थियो ।
तालिम पश्चात शिसवार बोटे माझी समुदायमा बसोबास गर्ने करिब ३ सय ४० घरधुरिलाई काँक्रो, करेला, लौका, घिरौलाको विउविजन र पोलिप्याड समेत वितरण गरिएको थियो । तालिममा करिब ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता दिव्य युवा उद्यमी सहकारी संस्थाका अध्यक्ष केशव भण्डारीले गर्नुभएको थियो भने देवचुली वडा नं १ वडा सदस्य बाबुराम माझी, कृषि शाखा प्रमुख नरेन्द्र भण्डारी लगायतको उपस्थिती रहेको थियो । यसैगरि कार्यक्रमको संयोजन दिव्य युवा उद्यमी सहकारी संस्थाका सदस्य डिआर केसीले गर्नुभएको थियो ।