आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको मिनी अक्सन बिहीबार आयोजना भएको थियो ।
चेन्नईमा आयोजित अक्सनमा कुल २ सय ९२ खेलाडी समावेश भएका थिए । अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने समेत समावेश थिए । दिल्ली क्यापिटल्सले रिलिज गरेपछि तीन सिजन आईपीएल खेलिसकेका सन्दीप अक्सनमा सामेल भएका थिए ।अक्सनमा सन्दीप नेपालको एक्लो प्रतिनिधि थिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनका लागि सन्दीपसहित विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी गरी ८ खेलाडीको नाम पठाएका थिए ।
तर, अन्तिम अक्सनका लागि सन्दीप मात्र छानिएका थिए ।
सन्दीपले सन् २०१८ को आईपीएलबाटै आफ्नो विदेशी फ्रेन्चाइज क्रिकेटको यात्रा सुरु गरेका थिए । उनी आईपीएल खेल्ने पहिलो नेपाली समेत हुन् ।
आईपीएलबाट सन्दीपले ठुलो उचाइ पाए र नियमित ठुला विदेशी फ्रेन्चाइज खेल्दै आएका छन् ।यस पटकको अक्सनमा समेत सन्दीपलाई कुनै टिमले बोली लगाउने अनुमान गरिएको थियो ।
नेपाली क्रिकेटका स्टार सन्दीपले अक्सनमा आफ्नो मूल्य सामान्य नै राखेका थिए ।
तर, ४० लाख भारु मूल्य भएका सन्दीपलाई कुनैपनि टिमले खरिद गरेन् । सन्दीपलाई कुनै पनि टिमले चासो देखाएनन् ।
यस पटकको अक्सनमा २२ विदेशी खेलाडीमाथि बोली लगाउनु पर्ने थियो । त्यसैले पनि सन्दीपको सम्भावना कम देखिएको थियो ।
यद्दपी केही टिममा स्तरीय स्पिनरको खाँचो हुँदा सन्दीप बिक्ने अनुमान गरिएको थियो ।
चेन्नईको अक्सनमा फास्ट बलर र पछिल्लो क्रममा ब्याटिङ गर्न सक्ने खेलाडीको माग बढी थियो । माग बढेसंगै उनीहरु ठुलो धनराशीमा अनुबन्धन भए ।
दक्षिण अफ्रिकाका फास्ट बलर अलराउण्डर क्रिस मोरिस आईपीएल इतिहासमै सर्वाधिक मूल्यमा बिक्री ए । उनलाई राजस्थान रोयल्सले कीर्तिमानी १६ करोड २५ लाखमा अनुबन्धन गर्यो ।
मोरिसलाई भित्र्याउन ४ टिमले चासो देखाएका थिए ।
न्युजिल्याण्डका फास्ट बलर केइले जेमिसनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १५ करोडमा अनुबन्ध गर्यो । अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलमा बैंगलोरले १४ करोड २५ लाख खर्च गर्यो ।
अक्सनमा सर्वाधिक बोली फास्ट बलर र अलराउण्डरमा लागेको थियो ।
अक्सनमा सर्वाधिक मूल्य पाउने शीर्ष ८ खेलाडीमध्ये कृष्णप्पा गौथम र म्याक्सवेल बाहेक अन्य सबै फास्ट बलर र फास्ट बलर अलराउण्डर थिए ।
यस्तै अक्सनमा बोली नलागेको स्पिनर तथा ओपनिङ ब्याट्सम्यानमा थियो । स्टार ब्याट्सम्यान आरोन फिन्च, इभिन लुइस, एलेक्स हेल्स, ग्लेन फिलिप्स, ,मार्टिन गुप्टिल जस्ता ब्याट्सम्यानमाथि बोली लागेन ।
स्पिनरमा समेत टिमले ध्यान दिएनन् । आदील रशिद, कियास अहमद, इस सोधी, सन्दीप लामिछाने, करन शर्मा जस्ता स्पिनरले भाउ पाएनन् ।
भारतीय भेट्रान स्पिनर हर्बजन सिंहमाथि समेत पहिलो चरणमा बोली लागेको थिएन । यद्दपी उनले दोस्रो चरणमा न्युनतम मुल्य पाए । यस्तै अफगानिस्तानका मुजिब उर रहमान पनि दोस्रो चरणमा मात्र बिक्री भए ।
अक्सन अघि पन्जाब किंग्सले स्पिनरमाथि बोली लगाउने अनुमान गरिएको थियो । पन्जाबको टिममा भरपर्दा स्टार स्पिनर थिएनन् ।
तर, अक्सनमा पन्जाबले स्पिनरमा आँखा लगाएन । पन्जाबले फाबियन एलेनलाई विदेशी स्पिनरको रुपमा अनुबन्ध गर्यो । त्यसबाहेक पन्जाबमा रवि बिश्नोई, दीपक हुडा, मुरुगन आश्विन, हरप्रित बरार स्पिनरका रूपमा छन् ।
पन्जाबमा स्पिनरको अभाव देखिएकोले सन्दीपमा समेत बोली लाग्ने अनुमान थियो । तर, पन्जाबले एक मात्र स्पिनरमा बोली लगायो ।
सनराइजर्स हैदराबादले ३ खेलाडी अनुबन्ध गर्दा जगदिशा सुचिथ र दोस्रो चरणमा मुजिब र अलराउण्डर केदार जाधबलाई स्पिनरको रुपमा भित्र्यायो ।
चेन्नई सुपर किङ्सले कृष्णप्पा गौथम, कोलकत्ता नाइट राइडर्सले पवन नेगी, हर्बजन सिंह र शकिब अल हसन, मुम्बई इण्डियन्सले पिउस चावला, राजस्थानले कुलदिप यादबलाई मुख्य स्पिनरको रुपमा टिममा अनुबन्ध गरे ।
सन्दीपमाथी बोली नलाग्नुको अर्को प्रमुख कारण उनको पछिल्लो प्रदर्शन हो ।
सन्दीपले गत संस्करणको बिग बास लिगमा खासै प्रदर्शन गर्न सकेका थिएनन् । त्यसअघि उनी आईपीएलमा पुरै सिजन बेञ्चमा सिमित भएका थिए ।
लगातार विदेशी फ्रेन्चाइज लिगमा ब्यस्त रहँदै आएपछी सन्दीप अक्सन वा ड्राफ्टबाट नबिकेको यो पहिलो पटक भने होइन । यसअघि सन्दीप पाकिस्तान सुपर लिगको सन् २०२० तथा २०२१ को ड्राफ्टमा समेत बिक्री भएका थिएनन् ।
खेलपाटीबाट