चितवन,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भगवान रामको जन्म चितवनको माडी अयोध्यामा भएको प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
दाहाल–नेपाल समूह निकट प्रेस संगठन चितवनले आज (मंगलबार) विहान भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई रामको जन्म चितवनको माडीमा भएको प्रमाणित गर्न चुनौती दिँदै प्रमाणित गर्न सके आफूले सहयोग गर्ने बताए ।
केहीदिन पहिले चितवनमा भएको आमसभामा प्रधानमन्त्री ओलीले रामको जन्म चितवनको माडीस्थित अयोध्यामा भएको बताउँदा प्रचण्ड किन चुप लागेको भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले राम जन्म प्रमाणित गर्न चुनौती दिएका हुन् । ‘मेरो चुनौती छ, त्यस्ता कुरालाई तपाइले बढो ब्लफ दिनु भाछ, पुरातात्विक र अन्वेषण गर्न, त्यसलाई स्थापित र प्रमाणित गर्न तपाइले के गर्नु भो ? त्यहाँ चाँही एउटा माखो नमार्ने, सिन्को नभाच्ने, हो हल्ला चाँही ठूलो गर्ने ? होहल्ला नगरेर प्रमाणित गर्न लाग्नुस् तपाईलाई सहयोग गर्छु ।’ राम मन्दिरको कुरा गरेर ओलीले राजनीति गर्न खोजेको अरोप लगाउँदै प्रचण्डले भने–‘राम मन्दिरको कुरा खाली पोलिटिक्स गर्छु र प्रचण्ड सिध्याउने अभियान चलाउछु भन्ठानु भाछ, त्यसले उहाँ नै गड्डामा पर्नु हुन्छ ।’
माडीमा राम जन्मेको प्रमाणि भए सबैभन्दा खुशी आफू हुने भन्दै उनले भने–‘पुरातत्व अन्वेषणबाट प्रमाणित भयो भने, मेरो निर्वाचन क्षेत्रमा अयोध्या हो, मेरै निर्वाचन क्षेत्रमा राम जन्मेको हो भन्ने पुष्टि भयो त्यसलाई स्थापित गर्न सकियो भने नेताहरु मध्ये सबैभन्दा खुशी हुने त मेरै भागमा हुन्छ म त्यसको किन विरोध गर्ने ।’
यस्तै अध्यक्ष प्रचण्डले माडीलाई मणि बनाउने कुरामा प्रधानमन्त्रीले नै अवरोध गरेको बताए । ‘माडीलाई मणि बनाउन नदिन ओली नै दोषी छन् । उहाँले जति सहयोग गर्नुपर्ने हो गर्नु भएन’–अध्यक्ष प्रचण्डले भने । आफूले बाटो, पुल निर्माणलाई अघि बढाएको भन्दै माडीमा विकासको लहर सुरु भएको बताए । उनले प्रधानमन्त्री ओलीलाई विकास विरोधीको संज्ञा दिँदै त्यसका बाबजुत पनि माडीमा विकास गर्न सफल भएको बताए ।
नारायणी अनलाइनबाट