देवचुली,
देवचुली नगरपालिका वडा नं १३ मा कृषक समूहलाई विउ विजन वितरण गरिएको छ । सोमबार देवचुली उद्योग वाणिज्य संघको सभाहलमा देवचुली वडा नं १३ का कृषक समूहका उपभोक्ताहरुलाई विउविजन वितरण गरिएको हो ।
वडाभित्र रहेका प्रत्येक उपभोक्ताहरुको घरको करेसाबारी खाली नरहोस भन्ने उद्धेश्यले लहरे तरकारी विउविजन वितरण गरिएको देवचुली वडा नं १३ का वडाध्यक्ष क्यापटेन डिल बहादुर खत्रीले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७७/७८ को वडा स्तरीय ८० हजार बजेट बाट वडाका प्रत्येक घरका सदस्यहरुलाई लहरे तरकारी विउविजन वितरण गरिएको खत्रीले बताउनुभयो । उहाँले वडाले गत बर्ष पनि लहरे तरकारी विउविजन वितरण गरेकाले यस बर्ष पनि कृषक समूहको माग अनुसार विउविजन वितरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नं १३ मा रहेको कुमारवर्ती टोल सुधार समिति, वागेश्वरी टोल सुधार समिति, बोटे टोल सुधार समिति, सिर्जनशिल टोल सुधार समिति, गणेश टोल सुधार समिति, देवचुली टोल सुधार समितिका उपभोक्ता गरि ५ सय ४५ उपभोक्ताहरुलाई विउविजन हस्तान्तरण गरिएको थियो ।
करेला, काँक्रो, लौका, घिरौला, बोडी, भेन्डी जस्तो लहरे तरकारी विउ वितरण गरिएको कार्यपालिका सदस्य सुवोचन्द्र सुवेदीले जानकारी दिनुभयो । देवचुली नगरपालिकाका वडा नं १३ का वडा अध्यक्ष क्याप्टेन डिलबहादुर खत्रीको अध्यक्षतामा भएको विउ वितरण कार्यक्रममा कार्यपालिका सदस्य सुवोचन्द्र सुवेदी, वडा सदस्य लालीमाया सुनार, ओमनारायण महतो, जगबहादुर बोटे लगायतको उपस्थिति रहेको थियो ।