देवचुली,
देवचुली नगरपालिकाले नगरका दुईवटा विधेयक सातौ नगरसभाबाट पास गरेको छ । नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७७ र जलस्रोत विधेयक २०७७ सर्वसम्मत पास गरेको हो । सातौ नगरसभामा विधायन समितिका संयोजक दिनानाथ भुसालले दुवै विधेयक पढेर नगरसभामा प्रस्तुत गर्नुभएको थियो । भुसालले प्रस्तुत गर्नुभएको विधेयक नगरसभाले सदर गरेको थियो ।
देवचुली नगरपालिकामा प्राकृतिक स्रोतको उपभोग तथा दिगो व्यवस्थापन, वातावरण र विकास विच सन्तुलन, जैविक विविधताको संरक्षण र स्वच्छ वातावरणमा बाँच्न पाउने नगरवासीको अधिकार सुनिश्चित गर्न वातावरण तथा प्राकृतिक स्रोत संरक्षण गर्न बनेको विधेयक २०७७ नगरसभामा पेश गरिएको संयोजक भुसालले नगरसभा मार्फत जानकारी दिनुभयो । साथै उहाँले नगरभित्रका भू–सतहमा वा भूमिगत रहेका जलस्रोतको उपयोग, व्यवस्थापन, संरक्षण र विकास गर्न, जलस्रोतबाट हुने वातावरणीय प्रदुषण कम गर्न र जलस्रोतको उपभोगलाई कानुनी दायरामा ल्याउन जलस्रोत विधेयक २०७७ ल्याइएको बताउनुभयो ।
देवचुली नगरपालिकाको सातौ नगरसभामा नगर उपप्रमुख पार्वता तिवारीले आर्थिक वर्ष २०७७/७८ को श्रावण देखि पुस मसान्त सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपप्रमुख तिवारीले नगरपालिकाका हरेक शाखामा भएका कार्य विवरणको प्रस्तुती गर्नुका साथै १७ वटै वडाका सम्पादन भएका कामहरुको बारेमा नगरसभालाई जानकारी गराउनुभएको थियो । उहाँले कृषि विकास शाखाको ७ वटा योजना, पशु सेवा शाखाको ७ वटा योजना, श्रम तथा रोजगार शाखाको १, योजना तथा पूर्वाधार शाखाको २९, सामाजिक विकास शाखाको २, स्वास्थ्य शाखाको २०, शिक्षा शाखाको ७ र आयुर्वेद औषधालय शाखाको ३ वटा योजना सम्पन्न भई भुक्तानी भइसकेको जानकारी दिनुभयो । साथै उहाँले सबै शाखाका धेरै योजनाहरु सम्झौता प्रक्रियामा रहेको समेत बताउनुभयो । सातौ नगरसभामा उपप्रमुख तिवारीले व्यक्तिगत घटना दर्ताका विवरण, सामाजिक सुरक्षा भत्ताका विवरण, भौतिक तथा पूर्वाधार विकासका विवरण प्रस्तुत गर्नुभएको थियो ।
देवचुली नगरपालिकाको सातौ नगरसभामा उपस्थित नगरसभा सदस्यहरुले सुकुम्बासी समस्या, ऐलानी जग्गा, फोहोरमैला व्यवस्थापन, शिक्षक दरबन्दी, सडक निर्माणमा नाली व्यवस्थापन लगायतका विषयमा प्रश्न गरेका थिए । उठेका प्रश्न तथा जिज्ञासाहरुको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, उपप्रमुख पार्वता तिवारी तथा नगर प्रमुख पूर्णकुमार श्रेष्ठले जवाफ दिनुभएको थियो ।
सातौ नगरसभाका अध्यक्षता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।