किशोरी तथा युवतीलाई हुने रक्तअल्पताबाट जोगाउनका लागि विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान शुरु भएको छ ।
बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । कक्षा पाँचभन्दा माथिल्लो कक्षामा पढाइ हुने सबै विद्यालयका छात्रालाई आइतबार आइरन चक्की खुवाइएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । नेपाल सरकारको पोषण कार्यक्रमअन्तर्गत विद्यालयकै सक्रियतामा यो अभियान सञ्चालन हुनेछ ।
नजिकै रहेको स्वास्थ्य संस्थाले विद्यालयका स्वास्थ्य विषय अध्ययन गराउने शिक्षकलाई आइरन चक्की उपलब्ध गराउने छन् । शिक्षकले आफ्नो विद्यालयका किशोरीलाई हप्तामा एक पटकका दरले १३ हप्ता आइरन खुवाउने छन् । अभियानको अनुगमन र सुपरिवेक्षणको जिम्मेवारी विद्यालय नजिकै रहेका स्वास्थ्य संस्थाका प्रमुखलाई दिइएको छ ।
“यो अभियान पोषणको अभियान हो, आज दिएको आइरन चक्कीले भोलि यौवन अवस्थामा महिलामा देखिने रक्तअल्पता कम हुन्छ”, प्रमुख खनालले भन्नुभयो, “बागलुङमा पहिलोपटक सबै वडाका विद्यालयमा पुग्ने गरी हामीले अभियान थालेका छौँ ।” विद्यालय नर्स कार्यक्रम सञ्चालनमा रहेका विद्यालयमा भने नर्सकै निगरानीमा किशोरीले आइरन चक्की खाने व्यवस्था मिलाइएको छ । बागलुङ पाँच वटा विद्यालयमा मात्रै विद्यालय नर्स कार्यक्रम सञ्चालनमा छ ।
तेह्र हप्तासम्म निरन्तर खुवाइसकेपछि थप १३ हप्ता खाली रहने र त्यसपछिका १३ हप्ता पुनः खुवाइने उहाँले जानकारी दिनुभयो । नगरपालिकाले विद्यालयमा अवश्यक आइरन चक्कीको व्यवस्थापन गरेको छ । यो कार्यक्रममा १० वर्षमाथि १९ वर्षसम्म उमेर समूहका किशोरी सहभागी हुनेछन् । नियमित कार्यक्रम बनाएर अभियानमा कसैलाई नछुट्ने गरी व्यवस्थापन गरिएको प्रमुख खनालको भनाइ छ ।
बागलुङमा चार वर्ष पहिला शुरु गर्ने भनेर थालिएको अभियान विभिन्न कारण देखाउँदै रोकिएको थियो । यस पटकको अभियान भने निरन्तर चल्ने उहाँले जानकारी दिनुभयो । बागलुङ नगरपालिकामा ३४ सामुदायिक र १७ संस्थागत विद्यालयमा कक्षा ५ भन्दा माथि पठनपाठन हुने गरेको छ । सामुदायिक विद्यालयका झण्डै एक हजार र संस्थागत विद्यालयका एक हजार ५०० किशोरी यो अभियानमा सहभागी हुने शिक्षा शाखाका अधिकृत गौरव रानाले बताउनुभयो ।
पोखरा न्यूजबाट