देवचुली,
महिनावारीको समयमा किशोरी तथा महिलाहरुका लागि आवश्यक पर्ने प्याडका लागि देवचुलीमा किशोरहरुले पनि सेनेटरी प्याड बनाउन सिकिरहेका छन् । महिनावारी भएको बेला आफ्ना दिदीबहिनी तथा आमाहरुलाई केही सहयोग होस भन्ने उद्धेश्यले देवचुली नगरपालिका वडा नं ६ किर्तीपुरमा रहेको राष्ट्रिय शारदा आधारभूत विद्यालयका कक्षा ६ र ७ का किशोरकिशोरहरु यतिबेला सेनेटरी प्याड बनाउन तर्फ लागि रहेका छन् ।
दिगो खानेपानी तथा क्षमता अभिबृद्धी परियोजना (नापा वास) र जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा देवचुली ६ किर्तीपुरको राष्ट्रिय शारदा आधारभूत विद्यालयमा १ दिने सेनेटरी प्याड तालिममा किशोरहरुको पनि सहभागिता लिएका हुन् ।
आमा तथा दिदीबहिनीहरुलाई महिनावारीको समयमा धेरै पिडा हुने गरेकाले यस समयमा थोरै भएपनि सहयोग होस भन्ने उद्धेश्यले सेनेटरी प्याड निर्माणमा आँफूहरु लागेको राष्ट्रिय शारदा आधारभूत विद्यालयका छात्र हुम बहादुर सिंजालीले बताउँछन् । घरमा नै पुरानो कपडाको सेनेटरी प्याड निमार्ण गर्न सके खर्च कम लाग्ने सिंजालीले बताए ।
किशोरीहरु विद्यालय आउँदा महिनावारीको बेला बोल्न डराउने हुँदा पनि किशोरहरुले उनीहरुको समस्यालाई बुझन सके किशोरीहरुलाई सहज हुने अर्का छात्र समिर कानुङले बताउँछन् । महिनावारीको विषयमा यति धेरै ज्ञान लिन पाउँदा निकै खुशी लागेको उनले सुनाउँछन् ।
कपडाबाट कसरी सेनेटरी प्याड बनाउन सकिन्छ र यसको फाईदाहरुको बारेमा थाहा पाउँदा खुशी लागेको सोही विद्यालयकी छात्रा सुप्रिया गाहाले बताउँछिन् । गाहाले तालिम सिकेपछि बजारीया प्याड भन्दा घरमै बनाएको सेनेटरी प्याड आँफूले पनि प्रयोग गर्ने र घरवरिपरि दिदीबहिनीहरुलाई सिकाएर प्रयोग गर्न लगाउने बताउँछिन् ।
ग्रामीण क्षेत्रमा महिला तथा दिदीबहिनीहरुले महिनावारीमा कपडा मात्र प्रयोग गर्ने तर त्यसलाई कसरी व्यवस्थीत गर्ने र सरसफाइ कसरी हुने भन्ने विषयमा ज्ञान नभएको बताउँदै तालिमले धेरै कुरा सिकाएको विद्यालयकी शिक्षिका तिलीजा ठाडा गाहा मगरले बताउनुहुन्छ । उहाँले तालिम पश्चात किशोरीहरुको समस्यालाई किशोरहरुले पनि बुझने अवसर मिलेको बताउनुभयो ।
सेनेटरी प्याड निर्माण तालिमको सहजीकरण जागृती बाल तथा युवा सरोकार नेपालका किशोरी अभियान्ता आशा वि.क र विद्या ढुँगनाले गर्नुभएको थियो । सो तालिममा ४० जनाको सहभागिता रहेको थियो ।