देवचुली,
चाइना फाउण्डेशनको आर्थिक सहयोग र प्राविधिक सहयोगमा राष्ट्रिय अपाङ्ग पुनस्थापना केन्द्रले देवचुली ५ को बन्दिपुरमा रहेको नेपाल धर्ती प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बिहिबार देवचुली नगरपालिका वडा नं ५ बन्दिपुरमा रहेको नेपाल धर्ती प्राथमिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता नेपाल धर्ती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर डिसुवाले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले देवचुलीको पहाडी भेगमा रहेको बन्दिपुरका बालबालिकालाई चाइना फाउण्डेशनको सहयोगले यहाँका बालबालिकालाई धेरै राहत मिल्ने बताउँदै चाइन फाउण्डेशनलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा करिब ५३ जना बालबालिकालाई झोला, कापी, कलम, रंगिन कलम, जोमेट्रि बक्स लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । शैक्षिक सामाग्री पाएपछि बालबालिकाको मुहारमा छुट्टै किसिमको चमक देखिन्थ्यो ।
कार्यक्रममा बोल्दै नेपाल धर्ती प्राथमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीदत्त आचार्यले विद्यार्थीहरु शैक्षिक सामाग्री पाएपछि खुशी हुँदै नियमित विद्यालय आउनेमा आँफू ढुक्क रहेको बताउदै चाइन फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा कदमपुर टोल विकास समितिका संयोजक सुन्दर पाण्डेले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा भूमिका टेक्निकल प्रा.लिका प्रमुख विवेक अधिकारी, स्थानीयबासी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।