देवचुली
"सिप सिकौँ आत्म निर्भर बनौ" भन्ने उदेश्यका साथ देवचुली नगरपालिका वडा नं ५ मा ७ दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नं ५ को आर्थिक सहयोग र भूमिका टेक्निकल सेर्भिस प्रा.लिको प्राविधिक सहयोगमा गुडिया बनाउने तालिम सम्पन्न भएको हो । महिलाहरू पनि अब उद्यमी बनी आत्मनिर्भर हुनुपर्छ भन्ने उदेश्यले गत माघ ३ गते देखि सुरू भएको तालिम माघ १४ गते समापन भएको हो ।
समापन कार्यक्रमको अध्यक्षता भूमिका टेक्निकल प्रा.लिका प्रमुख विवेक अधिकारीले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकोटा रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका वडाध्यक्ष सापकोटाले वडा भित्रका महिलाहरूलाई विभिन्न तालिमहरू प्रदान गरि सक्षम बनाउन वडा लागि रहने बताउँदै महिलाहरूले पनि सिकेको कुरालाई व्यवहारमा उतारी सदुपयोग गरिदिनुहुन अनुरोध गर्नुभएको थियो । उहाँले आर्थिक बर्ष २०७७/७८ को वडा स्तरीय ३ लाख बजेट मार्फत महिला दिदीबहिनीहरुलाई सिप मुलक तालिम प्रदान गरिएको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा तालिम प्राप्त महिला दिदीबहिनीहरुलाई प्रमाण पत्र र मायाको चिनोमा आँफैले बनाएको गुडिया हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम निकै फलदायी र सिप सिकेपछि आँफूहरुले व्यवहारमा उतार्ने बताउँदै आगामी दिनहरुमा पनि महिलाहरुका लागि यस्तै तालिम संचालन गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रममा अध्यक्षता रहनुभएका भूमिका टेक्निकल प्रा.लिका प्रमुख विवेक अधिकारीले महिला दिदीबहिनीहरुले बनाएका गुडियालाई बजारीकरण गर्न भूमिका टेक्निकल प्रा.लिले सहयोग गर्ने बताउनुभएको थियो ।
तालिम सशिकला महतो, सपना रिमाल र इन्दिरा महतोले प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण भूमिका टेक्निकल प्रा.लिका संचालक दिपा देवकोटाले गर्नुभएको थियो ।