देवचुली,
देवचुली नगरपालिका वडा नं ११ मा रहेको सुर्यकिरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री (न्यानो कपडा) वितरण गरिएको छ । मंगलबार देवचुली वडा नं ११ को आयोजनामा विद्यालयको प्राङ्गणमा १ सय २० जना बालबालिकालाई शैक्षिक सामाग्री न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर बरालले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली वडा नं ११ का वडाध्यक्ष रमेश बहादुर ठाडा रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका ठाडाले बालबालिकाहरुको पढ्न पाउने अधिकारलाई कसैले पनि बञ्चित गराउन नपाउने भन्दै विपन्न बालबालिकाको पढाईमा थप सहज होस भन्ने हेतुले शैक्षिक सामाग्री न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । उहाँले आर्थिक बर्ष २०७७/७८ को वडास्तरीय १ लाख बजेट मार्फत सुर्यकिरण आधारभूत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।
यसैगरि कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोक बहादुर थापाले आर्थिक अभावका कारण पठनपाठनमा समस्या झेल्दै आइरहेका बालबालिकालाई सहयोगका लागि शैक्षिक सामाग्री न्यानो कपडा वितरण गरि बालबालिकामा थप हौसला बढाइदिनुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका १ देखि ५ कक्षा सम्मका बालबालिकाहरुलाई १ सेट ट्रयाकसुट, १ टोपी, ४ वटा पेन्सिल र पेन्सिल कटर वितरण गरिएको छ । बालबालिकाले ट्रयाकसुट पाएपछि नियमित विद्यालय आउने विश्वास राखेको कार्यक्रमको अध्यक्षता रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर बरालले बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सकुन्तला गुरुङ, वडा सदस्य नवराज भुसाल, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यालयका विद्यार्थी, अभिभावक, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक मन बहादुर थापाले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक लोक बहादुर थापाले गर्नुभएको थियो ।