देवचुली,
देवचुली नगरपालिका वडा नं १६ बाह्रकोलमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्धाटन गरिएको छ । सोमबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठद्धारा उक्त भवनको समुद्धाटन गरिएको हो । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आर्थिक बर्ष २०७५÷७६ को योजना अन्तर्गत विनियोजित १८ लाख बजेट मार्फत् बाह्रकोलमा स्वास्थ्य सेवा केन्द्र भवनको समुद्धाटन गरिएको हो । गत मंसिर १४ गते देखि स्वास्थ्य कार्यालय संचालन भएपनि (आज) सोमबार कार्यालयको समुद्धाटन गरिएको हो ।
कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ रहनुभएको थियो । यसैगरि विशेष अतिथीका रुपमा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, सि.अ.हे.व अधिकृत शिव पराजुली लगायतको उपस्थिती रहेको थियो ।
समुद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले देवचुली १६ को पहाडी क्षेत्रमा रहेको बाह्रकोलका बासिन्दाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताउँदै आगामी दिनमा बाह्रकोलको विकासका लागि नगरपालिकाको सधै साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले बाह्रकोलका बासिन्दालाई सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने समस्या रहेकाले अब आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा लिई लाभान्वित हुन समेत आग्रह गर्नुभएको छ ।
उक्त समुद्धाटन कार्यक्रम पश्चात् देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरमा वडाका १ सय ४० जना लाभान्वित भएका छन् ।
शिविरमा विशेषगरि सुगर, प्रेसर, मधुमेह, एलर्जी, ग्याष्ट्रीक, खोकीको चेकजाँच गरिएको थियो जसमा सुगरका बिरामीहरु धेरै रहेको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै शिविरमा चेकजाँच गराइसकेपछि निःशुल्क रुपमा औषधी वितरण गरिएको थियो । शिविरमा दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्रका डा. विकास अधिकारी, डा. दिपेश श्रेष्ठ, स्वास्थ्य स्वंयम सेविकाहरुले सेवा प्रदान गर्नुभएको थियो ।