संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।घोषित कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । धर्नामा संविधानसभा सदस्य, संघीय सांसदका सदस्य र प्रदेशसभा समेत सहभागी हुनेछन् ।
यस्तै १५ गते बुटवल, १६ गते बिराटनगर र १७ गते धनगढीमा सभा गर्ने र शीर्ष नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिले जनाएको छ । २२ गते काठमाडौंमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरिने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।
प्रचण्ड–समूहले ९ गते पनि काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो । यो प्रदर्शनले तरंग ल्याएको अध्यक्षमध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
प्रदर्शनमा सहभागी हुन प्रदेश २ बाट आएका अगुवा नेता कार्यकर्तालाई सोमबार पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले प्रतिगामीको टाउकोमा हान्नुपर्ने स्थिति आएकाले काठमाडौंमा सभा गरेको बताए । यद्यपि त्यो दिन प्रदेश २ को प्रतिनिधित्व गर्ने नेतालाई सम्बोधन गर्न दिन नसक्नु कमजोरी भएको बताए ।
२८ माघमा हुने प्रदर्शन अझ ठूलो हुने र सिंगो देशलाई काठमाडौंमा उतार्ने उनले दाबी गरे । प्रदेश २ बाट मात्र २५ हजारलाई काठमाडौं ल्याउन आग्रह गर्दै उनले अघि भने, ‘यो निर्णायक हुनेछ र त्यसले छिनोफानो गर्नेछ ।’
अनलाइन खबरबाट