भूमिहीन दलित, सुकुम्बासी अव्यवस्थीत बसोबासको लगत संकलन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार देवचुली नगरकार्यपालिकाको सभाहलमा देवचुली नगरपालिका भित्रमा प्रत्यक वडाका लागि छनोट गरिएका तथ्याङ्क संकलन र प्रत्येक वडाबाट ४ जना सदस्यहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अनुसार २०७६ दफा ६ को देहाय (घ) मा भूमिहीन सुकुम्बासी अव्यवस्थीत बसोबासको पहिचान, प्रमाणिकरणको काम, लगत संकलन काम गर्ने, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थीत बसोबासीलाई कसरी व्यवस्थापन गर्ने, आवास प्रयोजनका लागि भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरि कर्तव्य र अधिकार तोक्ने, संविधानमा भएको कानुनी व्यवस्था अनुसार सुकुम्बासीलाई कसरी जग्गा दिन लगाएतका महत्वपूर्ण विषयबस्तुहरु उल्लेख गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षकको रुपमा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी रहनुभएको थियो । प्रशिक्षकको रुपमा रहनुभएका पुरीले कृषि प्रयोजनको लागि काठमाण्डौ उपत्यका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको सहरी क्षेत्र बाहेकको क्षेत्रमा १० हजार वर्ग मिटर (२९.५९कठ्ठा) सम्म जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोबासीलाई आवास प्रयोजनका लागि काठमाण्डौ उपत्यकाका सहरी क्षेत्रमा १ सय ३० वर्ग मिटर (०.३८ कठ्ठा) वा ७.६८धुर र सो भन्दा अन्य क्षेत्रमा १ हजार वर्ग मिटर (२.९६ कठ्ठा) सम्म दिने बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ, सोहि कार्यालयका पदाधिकारीहरु मध्य प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, प्रवक्ता क्याप्टेन डिल बहादुर खत्री, कार्यापालिका सदस्यहरु, कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत एवम कार्यक्रमका प्रशिक्षक यज्ञ पुरी लगायतको उपस्थिती रहेको थियो ।