देवचुली,
देवचुली नगरपालिका वडा नं ५ कदमपुरको हातेमालो कृषक समुहका कृषकहरु यतिबेला प्याज खेतीमा एकजुट भएका छन् । खाली समयलाई सदुपयोग गरौँ र कृषिमा आत्मनिर्भर बनौँ भन्ने उद्धेश्यले हातेमालो कृषक समुहका सदस्यहरु यतिबेला तरकारी उत्पादन गर्न खेतीबारीमा व्यस्त देखिन्छन् । कृषि शाखा देवचुली नगरपालिका र वडा नं ५ को सहयोगमा कृषि खेती तर्फ आँफुहरु लागि परेको कृषक समुहका सदस्यहरुले बताएका छन् ।
सुरुवाती दिनमा १७ जना मात्र सदस्य रहेको समुहमा अहिले ३३ जना सदस्य रहेको हातेमालो कृषक समुहका अध्यक्ष भवदत्त शर्माले बताएका छन् । एक्लै भन्दा सामुहिक खेती गर्दा सहज हुने बताउँदै उत्पादन गरेको प्याजको विरुवा बजारको मुल्य अनुसार विक्री वितरण गर्ने शर्माले बताए ।
हातेमालो कृषक समुहले अहिले दुई कठ्ठा जग्गा भाडामा लिएर प्याजका विरुवा उत्पादन गरिरहेको छ । ४/५ हजारको विभिन्न तरकारीको विउ अनुदानमा पाएपछि समुहका सदस्यहरु मिलेर प्याज र अन्य तरकारी खेती गर्न थालिएको हातेमालो कृषक समुहका सचिव सुमित्रा चापागाईँले बताईन् । अहिले २ कठ्ठा जग्गामा धनिया, गाँजर, साग र प्याजको विउ उत्पादन गरेको चापागाईले बताउछिन् ।
यसरी समुहमा महिला र पुरुष मिलेर काम गर्दा धेरै कुरामा फाईदा हुने उनले बताउँछिन् । महिलाले गर्न नसक्ने काम पुरुषसँग मिलेर गर्दा दिदीबहिनी तथा दाजुभाईमा मेललिाप र आत्मीयता बढ्ने गरेको चापागाईँले बताउँछिन् ।
यसैगरि हातेमालो कृषक समुहकी अर्की सदस्य भगवती पाण्डेले सामुहिक खेती गर्दा लागतमा पनि कम खर्च हुने बताउँदै फुर्सदीलो समयलाई समुहमा आबद्ध दिदीबहिनीहरुले तरकारी खेतीमा व्यस्त रहने माध्यम बनेको बताएकीछिन् ।
पछिल्लो समय देवचुली नगरपालिकाका विभिन्न वडामा रहेका कृषक समुहहरु कृषि तर्फ अग्रसर भएको देख्न सकिन्छ । कृषि प्रदान देश नेपालमा कृषकहरुको आवश्यकतालाई मध्यनजर गर्दै उचित लगानी र बजारको व्यवस्था गर्ने हो भने कृषकले गरेको मेहेनत र श्रमको मुल्याङ्कन हुन्थ्यो ।