पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भइरहेको ढिलासुस्तीले यात्रुले हरेक दिन सास्ती भोग्न बाध्य छन् ।
साढे दुई घण्टामा पार गर्न सकिने यो खण्डमा अहिले गाडीलाई ८ घण्टासम्म लाग्दा सबैले सास्ती खेप्नुपरिरहेको हो । यस राजमार्गको ११५ किलोमिटर सडकखण्ड पछिल्लो आठ महिनायता धुलाम्मे र हिलाम्य बन्दा सार्वजनिक यातायातका सवारी साधन मात्र नभई आकस्मिक सेवा प्रवाह समेत प्रभावित भएको छ ।
अझै दुम्किबासदेखि बर्दघाटसम्मको १५ किलोमिटर सडक पार गर्न अहिले सवारीसाधनलाई चार घण्टा लाग्ने गर्छ । गैँडाकोटको थुम्सी पार गरेसँगै ठाउँठाउँमा सडकलाई डाइभर्सन गरी पुल निर्माण गरेको देख्न सकिन्छ । सडकको उकालो र ओरालोमा भारतबाट आउने १२ चक्के मालबहाक ट्रक दैनिकजसो सडकमै बिगिँ्रदा गाडीले सडकमा रात बिताउनुपर्ने अवस्था छ ।
दाउन्ने–बर्दघाट खण्डमा त कालोपत्रेको नाम निशान छैन । खाल्डो र धूलोले सडकमा दिउँसै अध्यारो जस्तो हुन्छ भने यात्रुहरू धूलोका कारण चिन्न सकिन्न । त्यस्तै सडकको दायाँबायाँका होटल व्यवसायी र पसले समेत धूलोबाट आजित भएका छन् । गएको वर्षायाममा दाउन्ने क्षेत्रमा धेरै ठाउँमा खसेको पहिरोले सडक बिगारेको थियो ।
पाँच वर्षसम्म नारायणगढ–मुग्लिङ सडकखण्डमा सास्ती भोग्दै आएका यात्रु र सवारी चालकले फेरि सात वर्ष बुटवल–नारायणगढ सडक खण्डमा सास्तीको यात्रा सुरू भएको हो । यो अवस्था तत्काल सुधार हुने सम्भावना देखिँदैन । सडक मार्गमा सास्ती सुरू भएपछि यस क्षेत्रका यात्रुहरू सडकबाट भन्दा हवाइमार्ग हुँदै भैरहवा–काठमाडौं यात्रा गर्न थालेका छन् ।
धूलोले गर्दा ट्राफिक प्रहरी समेत ठाउँ–ठाउँमा बस्न नसक्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । दैनिक रूपमा गैँडाकोटको थुम्सीदेखि बर्दघाटसम्म दैनिकरूपमा गाडीको लामो जाम हुने गर्छ ।
भरतपुर–बुटवल रूटमा चल्ने गाडीका चालक हरि रेग्मीले नारायणगढबाट बुटवल पुग्न ७ घण्टा लाग्ने बताए । ‘गाडीमा यात्रु आधा पनि हुँदैनन् । गाडीको खर्च सडकका कारण दोब्बर बनेको छ’ पाठकले भने, ‘गाडीमा पट्टा नभाँचिएको दिन नै हुँदैन । गाडी चलाउन सक्ने अवस्थै छैन । कोरोनाले ६ महिना थन्किएका गाडी अहिले फेरि सडकले झनै बिगारिदियो ।’
यस सडकमा दैनिक झण्डै सात हजार सवारीसाधान ओहोररदोहोर गर्छन् । काठमाडौंबाट बेलहिया नाका हुँदै भारत जाने गाडीहरूले पनि यही सडक प्रयोग गर्छन् । बिग्रिएको सडक मर्मतको काम सडक निर्माण कम्पनीको हुन्छ, तर त्यसपछि ठेकेदार कम्पनीले चासो दिएकै छैन । दैनिक ५ वटासम्म उडान हुने भैरहवा विमानस्थलमा पछिल्ला दिनमा १० वटासम्म उडान भएका छन् । मुग्लिन सडक नबन्दा भरतपुर विमानस्थलमा पनि उडानको चाप थपिएको थियो । दुई दिनयता बाक्लो हुस्सु र शितलहरले उडानहरू केही प्रभावित बने पछि यात्रुहरु झनै समस्यामा परेका छन् ।
२०७५ चैतमा तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले सडक स्तरोन्नतिको शिलन्यास गरे पनि एक वर्षसम्म निर्माण सुरु हुनै सकेन । आयोजनाको काम अहिले कछुवा गतिमा अगाडि बढेको छ । तीन वर्षमा सक्ने गरी शिलन्यास गरिएको आयोजनाको काम अहिलेसम्म जम्मा ७ प्रतिशत मात्र भएको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बुटवलबाट भारतको दिल्ली पुगेको गाडीभन्दा नारायणगढ पुगेको गाडीको बढी मर्मत गर्नुपर्ने अवस्था हुने गरेको बताए ।
‘सम्बन्धित निकायलाई पटक–पटक कम्तीमा खाल्डाखुल्डी पुरिदिनुप¥यो भन्यौं’ खरेलले भने, ‘कतैबाट सुनुवाइ हुँदैन । एक पटक ‘मेन्टिेनेन्स’ गरेको गाडी एक वर्षसम्म चल्थे । अहिले एकपटक काठमाडौं पुगेर आए भने ग्यारेजमा नपठाई हुँदैन,’ खरेलले थपे, ‘कि सडक निर्माण आयोजनाले खाल्डाखुल्डी पुरिदिनुप¥यो, कि उप्काइदिनुप¥यो, होइन भने सवारीसाधान कामै लाग्दैनन् ।’
भरतपुरका यात्रु शिव क्षेत्रीलाई बुटवलबाट भरतपुर आउन शनिबार ७ घण्टा लाग्यो । बिहानै हिँडेका उनी बेलुका ८ बजेमात्र भरतपुर आइपुगे । ‘ जाम र झण्झटले भरतपुर आउन मात्रै ७ घण्टाभन्दा बढी समय लाग्यो । अब सडक निर्माण गर्दा यात्रुबाहक गाडी चल्ने वैकल्पिक मार्गको जरुरी देखियो,’ उनले भने ।
नारायगढ–बुटवल सडक आयोजनाका इञ्जिनीयर प्रदिपराज शाक्यले ठेकेदारले काम नगर्दा गाडी र यात्रुले ठूलो सास्ती खेप्नु परेको बताए । ‘बन्दै गरेको सडक बिग्रिएमा, धूलो भएको ठाउँमा पानी हाल्ने काम ठेकेदारको हो,’ शाक्यले भने, ‘हामीले दैनिकरूपमा मर्मत गर्नुप¥यो, पानी हाल्नुप¥यो भन्छौं, सुन्दै सुन्दैनन् । काम पनि निकै सुस्त छ ।’
उनले थपे, ‘सडक साँघुरो हुँदा धेरै गाडी जाम हुने र बाटो बिग्रिँदा दैनिक रूपमा गाडी बिग्रिने समस्या धेरै देखिएको छ । १० किलोमिटरमा धूलो रोक्न पानी हाल्नुप¥यो भन्दा १ किलोमिटरमा पनि ठेकेदारले पानी हाल्दैनन् ।’ अहिले दाउन्ने पश्चिमतर्फ २० वटा ‘माइनर ब्रिज’ बनाउन काम थालिएको छ । त्यस्तै सडकमा पर्ने रूख काट्ने काम पनि सुस्त गतिमा अगाडि बढेको छ ।
राजा महेन्द्रले २०२० निर्माण गरेको दुई लेनको यो सडक जंगलमा चार र बस्तीमा ६ लेनमा ५० वर्षपछि विस्तार हुँदैछ ।
सडक स्तरोन्नति गर्ने गरी २०७५ सालमै चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले १७ अर्ब रुपैयाँमा ठेक्का सम्झौता लिएर काम धिमा गतिमा अगाडि बढाएको छ ।
नारायणी अनलाईन