देवचुली,
देवचुली नगरपालिकाका तीन सहकारी बीच एकीकरण भएको छ । देवचुली वडा नं १३ मा रहेको परोपकार बचत तथा ऋण सहकारी संस्था, वडा नं १५ मा नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था र वडा नं १६ मा रहेको ग्रामीण दिव्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भई मध्यनेपाल बचत तथा ऋण सहकारी संस्थाका रुपमा एकीकृत वित्तीय कारोबार गर्न मंगलबार एकीकरण घोषणा सभाको आयोजना गरिएको थियो ।
नवगठित मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ सदस्यीय संचालक समिति तथा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति गठन गरिएको छ । साविक नवप्रगति पृथ्वी साकोसका अध्यक्ष मानसिंह खत्री नवगठित मध्यनेपाल साकोसका अध्यक्ष रहनेछन् । संस्थाको उपाध्यक्षमा लोक प्रसाद भुर्तेल, सचिवमा कुश्माखर काफ्ले, कोषाध्यक्षमा तिल प्रसाद काफ्ले र सहसचिवमा राधादेवि न्यौपाने निर्वाचित हुनुभएको छ । यसैगरि सदस्यहरुमा तुलमणी पौडेल, जगन्नाथ अर्याल, पदमप्रसाद धिताल, निलप्रसाद पौडेल, ईश्वर प्रसाद चापागाईँ, अनिल बास्ताकोटी, राधिका तिमिल्सिना र सीता काफ्ले निर्वाचित हुनुभएको छ ।
आजै संस्थाको लेखा तथा सुपरीवेक्षण समितिको पनि गठन गरिएको छ । समितिको संयोजकमा यदुनाथ काफ्ले र सदस्यहरुमा गीता रिजाल न्यौपाने र सुरेन्द्र रिजाल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक एकदेव पौडेलले जानकारी दिनुभयो । नवनिर्वाचत संचालक समितिको कार्यावधी २ बर्ष ९ महिना रहनेछ ।
देवचुली नगरपालिकामै सबैभन्दा ठुलो वित्तिय कारोबार गर्ने मध्यनेपाल साकोसको कुल पुंजी १ अर्ब ५ करोड र शेयर पुंजी करिब १० करोड रहनेछ । संस्थाले १२ वटा सेवाकेन्द्रबाट कारोबार गर्नेछ भने संस्थामा ४६ जना कर्मचारी रहनेछन् ।
संस्था एकीकरण कार्यक्रमको अध्यक्षता साविक परोपकार साकोसका अध्यक्ष खेमराज सापकोटाले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले देवचुली नगरपालिकाका स–साना संस्था मिलेर एउटा ठुलो संस्था बनाउन पहल गरेकोेमा मध्यनेपाल बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद दिँदै अब बन्ने मध्यनेपाल साकोसले शेयर सदस्यको हित, उद्यमशिलता, महिला सशक्तिकरण र युवा स्वरोजगार कार्यक्रममा लक्षित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको दोस्रो सत्र अन्तर्गत नवनिर्वचित संचालक समिति घोषणा कार्यक्रमको अध्यक्षता निर्वाचन समितिका संयोजक एकदेव पौडेलले गनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथी रहनुभएका नेप्स्कुनका उपाध्यक्ष शान्ती अधिकारी ढकालले एकीकृत हुने तीनवटै सहकारीका संचालक समिति र कर्मचारीहरुमा नाम ,केन्द्रीय कार्यालय र पद प्राथमिकता नभई सहकारीको भविष्य प्राथमिकतामा रहेकाले एकीकरण सम्भव भएको बताउनुभयो । नवनिर्वाचित संचालक समितिलाई बधाई दिँदै साविक परोपकार साकोसका अध्यक्ष खेमराज सापकोटाले आँफूले अध्यक्षता छोडे पनि आँफू सहकारी सिपाईका रुपमा रहने बताउनुभयो ।
नवगठित संचालक समितिको शपथ ग्रहण पश्चात धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष मानसिंह खत्रीले संस्थालाई शेयर सदस्यले गर्व गर्ने संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । घोषणा सभाको कार्यक्रमको सहजीकरण साविक नवप्रगति पृथ्वी साकोसका सचिव कुश्माखर काफ्लेले गर्नुभएको थियो भने संचालक समितिको नेतृत्व चयन कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य खिमानन्द भुसालले गर्नुभएको थियो ।