देवचुली,
देवचुली नगरपालिकामा महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन चुरापोते तालिम दिईएको छ । देवचुली नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा विशेष गरि देवचुली नगरपालिकाका बोटे माझी, मुसहर, थारु र मुस्लिम जातका महिलाहरुलाई चुरापोते तालिम प्रदान गरिएको हो । गत बुधबार देखि देवचुली नगरपालिका वडा नं ११ मा रहेको महिला कल्याण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा सुरु भएको क्रिष्टल, गोला, ढला बनाउने तालिम मंगलबार (भोली) समापन हुने भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका महिला तथा बालबालिका सामाजिक विकास शाखा प्रमुख विमला लम्सालको अध्यक्षता रहेको थियो भने देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथत्यता रहेको थियो । यस्तै विशेष अतिथीका रुपमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले महिलाहरुको क्षमता विकास गर्दै आर्थिक रुपमा सबल बनाउन नगरपालिका प्रतिवद्ध रहेको भन्दै यस्ता विभिन्न आयमुलक तालिमको सदुपयोग गरी सफल उद्यमी बन्न समेत आग्रह गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले महिलाहरुले चुरापोते बनाउन सिकिसकेपछि दुईचार पैसा कमाउन सक्ने बताउँदै अन्य छरछिमेकका महिलाहरुलाई पनि सिप सिकाई आत्मनिर्भर बनाउन हौसला प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले तालिम लिएपछि पिछडिएका वर्गका महिलाहरुको आयआर्जनमा टेवा पुग्ने हिसाबले तालिमको आयोजना गरिएको बताउनुभयो । आर्थिक बर्ष २०७७र७८ को २ लाख बजेट मार्फत महिलाहरुलाई चुरापोते तालिम संचालन गरिएको लम्सालले जानकारी दिनुभयो ।
यसैगरि कार्यक्रममा बोल्दै महिला तथा बालबालिका सामाजिक विकास शाखाका सिता पौडेलले अघिल्ला बर्षहरुमा पनि तालिम आयोजना गरिएको बताउँदै महिलाहले चासो देखाएकाले आर्थिक रुपमा महिलाहरुलाई सशक्त बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
तालिमका प्रशिक्षण गर्नुभएको उमा पनेरुले चुरापोते सिकेर असल उद्यमी बन्न सक्ने बताउँदै तालिम लिने महिलाहरुलाई सिप सिकेर व्यवहारिक रुपमा उपयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।
तालिममा देवचुली नगरपालिकाका २६ जना महिलाहरुको सहभागिता रहेको छ । तालिम लिएपछि महिलाहरुले खाली समयलाई सदुपयोग गरि आत्मनिर्भर हुनेछन् भन्नेमा विश्वास राखिएको छ ।