देवचुली,
नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगरमा रहेको पशुपति विउ उत्पादक कृषक समुहका कृषकहरु यतिबेला सामुहिक रुपमा आलु खेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्र तनहुँको आर्थिक सहयोग र देवचुली नगरपालिका कृषि शाखाको सहयोगमा सामुहिक आलु खेती तर्फ कृषकहरु होमिएका हुन् । कृषक समुहका ४ जनाले साढे ३ विगाहा जग्गा लिजमा लिएर आलु लगाएको छन् भने समुहका अन्य कृषकहरुले पनि व्यक्तिगत रुपमा आफ्नै जग्गामा आलु लगाउँदै आएका छन् । अहिले उनीहरुले एम.एस, जनक देव, खुमल रातो र टि.वि.एस जातका आलु लगाएका छन् ।
पशुपति विउ उत्पादक कृषक समुहका अध्यक्ष बलाराम पोख्रेलले आँफूले विगत ४५ बर्ष देखि आलु खेती गर्दै आएको बताएका छन् । उनले गत बर्ष सम्म आँफूले व्यक्तिगत रुपमा आलु खेती गर्दै आएका थिए भने यस बर्ष सामुहिक रुपमा आलु खेती गरेको बताएका छन् । अहिले पशुपति विउ उत्पादन कृषक समुहका सदस्यहरु आलुखेतीमा लागेको पोख्रेलले बताउँछन् । समूहमा नबस्नेहरु पनि अहिले व्यक्तिगत रुपमै आलुलाई व्यवसायिक बनाउन कस्सिएका छन् : घरमा खान पनि हुने र ब्रिकी गरेर आम्दानी पनि हुने भएपछि समूहका महिला तथा पुरुष आलुखेतीमा होमिएको पोख्रेलले बताउँछन् ।
कृषि सेवा केन्द्रबाट पनि विउ अनुदानमा पाएपछि आलु खेती गर्न कृषकहरु उतसाहित हुने गरेको बताउँदै पोख्रेलले आलुलाई कोलस्टोरमा राख्ने वातावरण मिले देवचुली नगरपालिका भरिलाई पुग्ने आलुको विउ उत्पादन गर्ने सोचमा रहेको बताएका छन् ।
गत साल सम्म व्यक्तिगत रुपमा आलु खेती गर्दै आएका पशुपति विउ उत्पादक कृषक समुहका उपाध्यक्ष लिलाधर अधिकारीले व्यक्तिगत रुपमा मात्रै नभई व्यवसायिक तरिकाले आलु खेती तर्फ आँफूहरु लागेको बताएका छन् । सामुहिक रुपमा काम गर्न सहज हुने उनले अनुभव सुनाउँदै आलुबाट राम्रो आम्दानी हुनेमा आँफूहरु ढुक्क रहेको बताउँछन् ।
कषि खेतीबाट महिलाहरुले आयआर्जन बढाउने उद्धेश्यले समुहमा आबद्ध भई सामुहिक खेती गर्दै आइरहेकी पशुपति विउ उत्पादक कृषक समुहकी सदस्य पुष्प अर्यालले बतउँछिन् । विहान घरयासी काम सक्काएर दिनभरीको समय खेतीबारीमै बिताउने गरेको अर्यालले बताउँदै आँफू जस्तै अन्य महिलाहरुलाई पनि फुर्सदीलो समयलाई सदुपयोग गरि कृषिमा आत्र्मनिर्भर हुन समेत अनुरोध गर्छिन् ।
यसैगरि पशुपति विउ उत्पादक कृषक समुहकी अर्की सदस्य भिमादेवि लम्सालले सामुहिक गर्दा धेरै सजिलो हुने बताएकी छिन् । बजारमा उपलब्ध हुने विषादी तरकारी भन्दा आफ्नै बारीमा हरियो ताजा खानपाउँदा निरोगी भईने बताईन् ।
कृषि प्रदान देश नेपालमा कृषिमा उचित लगानी र कृषिजन्य उत्पादनहरुको सहि बजारको व्यवस्था गर्न सक्ने हो भने देशमा बेरोजगारी पनि घट्ने थियो र कृषिकै माध्यमबाट मुलुक संवृद्धिको बाटो तर्फ पक्कै उन्मुख हुने थियो कि ?