देवचुली,
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एव्म पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमा ठुङ्ने प्रवृति रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन् । भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र कदमबारे कुनै पनि नेताले प्रश्न गरे त्यसलाई ठुङ्ने गरेको आरोप लगाए ।
भुसालले भने – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनले मुलुकलाई डर लाग्दो संकट तर्फ धकेलेको छ, ओलीको असंवैधानिक कदम र हठी स्वभावका कारण मुलुक अस्थिरता तर्फ धकेलिएको छ । जनताले दिएको बहुमतको अनादार गरि संविधान मिचेर गराउन लागिएको मध्यावधी निर्वाचनमा ओली पक्षले बहुमत ल्याउने कुरा हास्यास्पद भएको टिप्पणी गर्दै आगामी बैशाखमा निर्वाचन हुनै नसक्ने भुसालले जिकिर गरे ।
कार्यकर्ता भेलामा सम्बोधन गरिरहेका भुसालले आफ्नो मन्तव्यको अधिकांस समय ओलीको कार्यशैली, प्रवृति, नेकपाको एकता र आगामी दिनमा नेकपाको भविष्यका विषयमा आफ्ना विचार राखेका थिए । इतिहासका थुप्रै कालखण्डमा संसद पुनस्र्थापनाको अभ्यास सफल भएकाले पनि ओलीले गरेको संसद विघटन तीन महिना भित्रै पुनस्र्थापना हुने भुसालले दाबी गरे । उनले भने– मुलुकमा अब संसद पुनस्र्थापना र सत्यनाश नै दुईवटा विकल्प हुन् त्यसैले संसद पुनस्र्थापना भएरै छोड्छ ।
प्रधानमन्त्री ओलीद्धारा गरिएको संसद विघटन कम्युनिष्ट पार्टीको सामुहिक आत्महत्या हो भनि विघटनको समयमा आँफूहरुले कुरा राखेको स्मरण गर्दै संसद विघटनमा राष्ट्रपतिले समेत फूलबुट्टा भरेको भुसालले आरोप लगाए । ओलीका पछिल्लो अभिव्यक्तिहरु सतही, हास्यास्पद, झुट, गाली गलौच र उत्ताउलो भएकाले पनि पूर्वएमाले र पूर्व माओवादी ब्युताउनु साम्प्रदायिक भएको जिकिर गर्दै ओलीको जस्तो चरित्रहत्या, तानाशाह प्रवृति र टुक्का प्रदर्शनले समाज चल्न नसक्ने नेता भुसालले बताए ।
कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रविन्द्र अधिकारी, केन्द्रीय सदस्य तथा नेकपाका नवलपुर सहइन्चार्ज किसन शर्मा गैरेले समेत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी नवलपुरका सचिव मित्रशरण शर्मा विहानीको अध्यक्षता रहेको थियो । नेकपा देवचुली नगर कमिटिका अध्यक्ष प्रेमा खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण नेकपाका जिल्ला सदस्य तिल काफ्लेले गरेका थिए ।