देवचुली,
देवचुली नगरपालिकामा रहेको परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शनिबार दलदले साहारा पार्टी प्यालेसमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्तयतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै विशिष्ट अतिथीका रुपमा नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव गौतम र परोपकार साकोसका पूर्व अध्यक्ष देवराज पौडेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले स–साना सहकारी संस्थाहरु एकीकरण हुँदै एउटा ठुलो सहकारी बनाउन देवचुली नगरपालिकाको ध्यान गएको बताउँदै निम्न वर्गहरुलाई ऋण प्रवाह गर्न कुनै समस्या आए देवचुली नगरपालिका जमानी बस्न तयार रहेको बताउनुभएको थियो । उहाँले एकीकरण हुुन लागेका सहकारी संस्थालाई आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
१४ औं साधारणसभामा परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमराज सापकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा सापकोटाले परोपकार साकोसको देवचुली १३ दलदले लगायत अन्य ५ वटा सेवाकेन्द्रबाट शेयर सदस्यहरुको चाहाना र पहुँचलाई मध्यनजर गर्दै सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा ३ वटा सहकारी संस्था एकीकरण पश्चात पनि संस्थालाई यसरी नै अगाडी बढाउँदै लैजाने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा परोपकार साकोसका कोषाध्यक्ष तिलप्रसाद कालेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले गत आर्थिक बर्षमा ४ करोड ९१ लाख ९८ हजार ५ सय ५९रुपैंया आम्दानी गरेको र ३ करोड ७० लाख २४ हजार ९ सय ५७ रुपैंया संस्था संचालनमा खर्च भएको कोषाध्यक्ष तिलप्रसाद कालेले प्रतिवेदन मार्फत उल्लेख गर्नुभयो ।
परोपकार साकोसले गत आर्थिक वर्षमा १ करोड २१ लाख ७३ हजार ६ सय २ रुपैंया नाफा गरेको कालेले जानकारी दिनुभयो ।
यसैगरि आर्थिक वर्ष २०७६/७७ को प्रगति प्रतिवेदन तथा आ.व २०७७/७८ को प्रस्तावित नीति तथा कार्यक्रमका संस्थाका सचिव नारायण पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मासिक उत्कृष्ठ शेयर सदस्य देउरुपा राना मगर, मासिक उत्कृष्ठ शेयर सदस्य कृष्ण बहादुर वि.क, वर्षको उत्कृष्ठ ऋणी शेयर सदस्य उमा भट्टराई, जेष्ठ नागरिक शेयर सदस्य विष्णु माया देवकोटा, बर्षको उत्कृष्ठ बाल बचत कर्ता आयन गुरुङ्ग, बर्षको उत्कृष्ठ बचतकर्ता लेखनाथ घिमिरे, बर्षको उत्कृष्ठ शेयर खरिद कर्ता कृष्ण प्रसाद शर्मा, परोपकार साकोसको बर्षको उत्कृष्ठ कर्मचारी अञ्जु लुइटेल, सहयोगी संस्था देवचुली वडा नं १३ का वडाध्यक्ष क्यापटेन डिल बहादुर खत्री लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लोकप्रसाद भुर्तेलले गर्नुभएको थियो भने शुभकामना मन्तव्य सहकारी संस्थाको तर्फबाट नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानसिंह खत्री, संघ संस्थाको तर्फबाट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, देवचुली नगरपालिकाका प्रवक्ता एवंम वडा नं १३ का वडाध्यक्ष क्यापटेन डिल बहादुर खत्री, एकीकरण कार्यदल सदस्य एंव सल्लाहकार समितिका सदस्य कृष्ण प्रसाद गौतम, राम प्रसाद मरासनी, नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव गौतम र परोपकार साकोसका पूर्व अध्यक्ष देवराज पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण परोपकार साकोसका सचिव नारायण पौडेलले गर्नुभएको थियो ।