नारायणी नदीकिनारमा भइरहेको हात्तीको प्रतिमा पुनःनिर्माण कार्य रोकिएको छ । भरतपुर महानगरपालिका र वडा नम्बर १ बीच तालमेल नमिल्दा उक्तकार्य बीचमै रोकिएको हो । पाँच टोल विकास संस्थाले एक हप्तादेखि सुरु गरेको काममा भरतपुर महानगरले बुधबार रोक लगाएको छ । महानगरले ‘सी वीच’ मोडलमा नारायणीलाई विकास गर्न लागिएको बताउँदै उक्तकार्यमा रोक लगाएको जनाएको छ ।
नारायणी नदीमा रहेको हात्तीको प्रतिमूर्ति यसवर्ष आएको बाढीले बगाएको थियो । उक्त प्रतिमूर्ति पुनः राख्नका लागि पाँच टोल विकास संस्थाले वडा नम्बर १ संग स्वीकृत लिएर काम अघि बढाएको थियो ।आफूहरुले काम गरिरहेको ठाउँमा आएर भरतपुर नगर प्रहरीले उक्त काम रोक्न भनेको पाँच टोल विकास संस्थाका अध्यक्ष दिपक शाही ठकुरीले जानकारी दिनुभयो । सो काम वडा र पाँच टोल विकास संस्थाले संयुक्त रुपमा लगानी गर्ने गरी सुरु गरिएको उहाँले बताउनुभयो । वडाको स्वीकृतीमा हात्ती राख्नका लागि आधार तयार पार्ने काम गरिहेको भए पनि महानगरले राकेको उहाँले गुनासो गर्नुभयो ।
संस्थाका उपाध्यक्ष निर्जन पियाले टोल संस्थाले नारायणीको कुभलो कहिल्यै नचाहने बताउनुभयो । ‘हामी स्थानीय हौं । हामीले आजसम्म नारायणीको रेखदेख गर्दै आएका छौं’ उहाँले भन्नुभयो, ‘हामीले बाढीले भत्काएको संरचनालाई बनाउन खोजेका हौं । केही बिगारेका छैनौं ।’ २०७५ सालमा उद्योग वाणिज्य संघ र पाँच टोल विकास संस्थाको समन्वयमा उक्त हात्तीको प्रतिमा राखिएको थियो ।
वडा नम्बर १ का अध्यक्ष जयराम श्रेष्ठले प्रतिमा निर्माण कार्य महानगरले नबुझेर रोकेको हुन सक्ने बताउनुभयो । पहिले भएको हात्तीलाई राख्ने काम मात्र गर्न खोजेकाले हामीले महानगरसँग स्वीकृत नलिई पाँच टोल विकास संस्थालाई काम गर्न भनेको बताउनुभयो । बुधबार आफूहरुले महानगरलाई एउटा चिठी पठाएको बताउँदै उहाँले विहिबारबाट काम पुुनः सुरु गर्ने बताउनुभयो । महानगरले विकास गर्न लागेको ‘सी वीच’ मोडेलको काम सुरु भएपछि महानगरलाई चित्त नबुझे हात्ती हटाउन सक्ने उहाँले बताउनुभयो ।
भतरपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले नारायणी नदी किनारलाई ‘सी वीच’ मोडेलमा विकास गरी संरचना बनाउने योजना रहेकाले हात्ती राख्ने काम रोकिएको बताउनुभयो । वडाले स्वीकृत दियो भनेर नारायणी नदी किनारमा अब कसैले केही संरचना बनाउन र पुनःनिर्माण गर्न नपाउने उहाँको भनाई छ । ‘नदी किनारमा के–के राख्ने, कहाँ राख्ने, कसरी राख्ने भन्ने कुराको ज्ञान सबै महानगरका इन्जिनियरसँग छ’, उहाँले भन्नुभयो, ‘वडा तहबाट स्वीकृत लिएर नारायणीमा कुनै पनि संरचना बनाउनु हुँदैन । बनाउनै परे हाम्रो योजनाअनुसार हामीले भनेअनुसार बनाउनु पर्छ ।’
नारायणीमा भइरहेको निर्माण कार्य बुधबार नगर प्रहरीले गएर रोकेको भन्दै उहाँले बिहिबारबाट काम सुरु भए पुनः रोकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी अब छिट्टै डिपिआर अनुसार ‘सी वीच’ मोडेलमा विकास गर्न काम सुरु गर्दैछौं । फोकटमा उहाँहरुले अहिले हात्ती राखेर किन बजेट खर्च गर्नुप¥यो ।
नारायणी अनलाईन