देवचुली,
किसानले कृषिमा उत्पादन गरेको मुल्य तोक्न नपाउँदा कृषकहरु सधै मर्कामा पर्ने गरेका छन् । किसानले गरेको मेहेनत र परिश्रमको मुल्य आँफै तोक्न नपाउँदा कृषक सधै मारमा पर्ने गरेको कावासोतीका ४ युवा कृषकहरुले बताएका छन् । देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगरको धौलागिरी चोक नजिकै संगत कृषि तथा पशुपन्छी प्रा. लि संचालन गर्दै आएका कावासोतीका रामहरि सापकोटा, राजेन्द्र गुरुङ्ग, विशाल शर्मा र राम बहादुर श्रेष्ठले ३ विगाहा जग्गामा सामुहिक कृषि खेती गर्दै आएका छन् । अर्गानिक खेतीमा होमिएका यि चार युवाहरु मध्ये कोही विदेशबाट फर्किएका हुन भने कोही यही कृषि व्यवसाय गर्दै आएका थिए ।
स्वदेशमा केही छैन भन्दै युवापुस्ता विदेशी रहेको बेला यहाँका युवाहरु जमिन भाडामा लिएर कृषि खेतीमा आत्मनिर्भर भएका छन् । कावासोतीका यि चार युवाहरुले विदेशको मोह त्यागेर गत चैत महिना देखि सामुहिक तरकारी खेती गर्दै आएका हुन । नेपाल एक कृषि प्रधान देश भएकाले पनि यही बसी केही गर्नुपर्छ भन्ने सोच अनुसार आँफूहरु व्यवसायिक तरकारी खेती गर्न थालेको रामहरि सापकोटाले बताए । अहिले उनीहरुले ३ विगाहा जग्गामा काउली, बन्दा, धनिया, खुसार्नी, सिमी, टमाटर, भेन्टा जस्ता विभिन्न प्रकारका तरकारी उत्पादन गरिरहेका छन् ।
आँफुहरुले तरकारी खेती सुरु गर्ने बेलामा लकडाउन परेकाले पहिलो पटकमा नै केही नोक्सानी बेहोर्नु परेता पनि उत्पादन राम्रो भएको संचालक रामहरि सापकोटाले बताएका छन् । ४ जनाले संयुक्त रुपमा तरकारी खेतीमा हाल सम्म २० लाख लगानी गरेका उनीहरुले विस्तारै राम्रो आम्दानी हुनेमा विश्वास समेत व्यक्त गरेका छन् । नेपाल सरकार तथा स्थानीय तहले कृषि पेशा गर्न ईच्छुकलाई तालिमहरु संचालन गर्दिए युवाहरु कृषिमा आकर्षित हुने सापकोटाले बताएका छन् । उनले अरु व्यवसायमा जसरी कृषिमा पनि मुल्य तोक्न पाउने हो भने कृषकहरुको समस्या केही हद सम्म समाधान हुने सापकोटाले बताए । आँफुहरुले गरेको मेहेनत, लगानी र समयको मुल्य बिचौलीयाहरुले तोक्दा आँफुहरु सधै मारमा पर्ने गरेको सापकोटाले बताउँछन् ।
यसैगरि यस क्षेत्रमा गैंडाले बेलाबेलामा दुख दिँदा सम्बन्धीत निकायले ध्यान दिन पर्ने बताउँछन् । अहिले उनीहरुले आफ्नो फार्ममा २ जनालाई रोजगार समेत दिएका छन् । अरु पेशाको लागि धेरै बजेटको आवश्यकता पर्ने हुँदा तरकारी खेतीमा कम लगानीले पनि मनग्य आम्दानी गर्न सकिने भएकाले साथीभाई मिलेर काम गरौं भन्ने उद्धेश्यले सामुहिक तरकारी खेती गरिएको अर्का संचालक राजेन्द्र गुरुङ्गले बताउँछन् । सबै युवाहरु विदेशीए बाँझो रहेको खेत कस्ले खनजोत गर्ने भन्ने सोच राखेका गुरुङ्गले विदेशमा गर्ने दुख स्वदेशमा नै गरी मनग्य आम्दानी गर्ने रहर रहेको बताउँछन् ।
यसैगरि देवचुली १५ का वडाध्यक्ष हरिभक्त भट्टराईले अर्काे छिमेकी नगरपालिकाबाट आई आफ्नो नगरपालिकामा बर्षाै देखि उजाड मैदान रहेको जमिनमा कृषि व्यवसाय गरेका युवाहरुलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बर्षेनी लाखौं युवाहरु विदेश तिर पलायन हुँदै जाने हो भने देशमा कृषिमा क्रान्ति कसले गर्छ । आधुनिक कृषि व्यवसायलाई कसले अगाडी बढाउँछ र हामी कसरी कृषिमा आत्मनिर्भर बन्न सक्छौ । त्यसैले माथिका यि चार युवाहरु जस्तै अन्य युवाहरुले पनि देशमै रहेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास लिएर अगाडी बढ्ने हो भने देश चाडै नै कृषिमा आत्मनिर्भर हुने थियो कि ।